नारायणी अस्पतालमा पोस्ट नेटल केयर वार्ड निर्माण हुने

आइतबार, १७ मंसिर, २०८०
डिजिटल संस्करण

वीरगन्जमा रहेको कन्साई नेरोलेक पेन्ट जापान प्राइभेट लिमिटेडले नारायणी अस्पतालमा पोस्ट नेटल केयर (पिएनसी) वार्ड निर्माण गरिदिने भएको छ।

वीरगन्ज महानगरपालिका कार्यालयको पहलमा कन्साई नेरोलेक पेन्टले अस्पतालमा पोस्ट नेटल केयर (पिएनसी) वार्ड निर्माण गर्न लागेको हो। ३५ लाखको लगानीमा उक्त संस्थाले वार्ड निर्माण गर्न लागेको नारायणी अस्पताल विकास समितिका अध्यक्ष धीरजकुमार गुप्ताले जानकारी दिए।

उनका अनुसार निर्माण हुन लागेको पिएनसी वार्डमा नारायणी अस्पतालमा बच्चा जन्माउने गर्भवती र बच्चालाई राखिनेछ। 

पिएनसी वार्ड छिटोछरितो निर्माण गर्न वीरगन्ज महानगरपालिका, कन्साई नेरोलेक पेन्ट र नारायणी अस्पतालबीच त्रिपक्षीय हस्ताक्षर पनि भएको अध्यक्ष गुप्ताले बताए।

त्रिपक्षीय सम्झौतामा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साह, महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र कन्साई नेरोलेक पेन्टका तर्फबाट मनोज मिश्राले हस्ताक्षर गरेका हुन्।

अस्पताल विकास समितिका अध्यक्ष गुप्ताले अस्पतालमा रहेको विभिन्न समस्या समाधान गर्न सबैको साथ–सहयोग आवश्यक रहेको बताए। वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले अस्पतालमा निर्माण हुन लागेको पिएनसी वार्डको गुणस्तरीयतामा सम्झौता नहुने बताए।

सुझावित समाचार