सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

बुधबार, १३ मंसिर, २०८०
डिजिटल संस्करण

अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर मृतकका आफन्तले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि हातपात गरेका छन् ।

सुत्केरी गराउन सोमबार अस्पताल आएकी गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीया भवानी रास्कोटीको सुत्केरीपछि मंगलबार मृत्यु भएको विषयलाई लिएर विवाद बढेपछि मृतकका आफन्तले अस्पतालका चिकित्सक मेसु डा. बस्यालमाथि हातपात गरेका हुन् । नवजात शिशु भने सकुशल रहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।

सुत्केरीपछि पनि सामान्य स्वास्थ्य अवस्थामा रहेकी महिलाको मंगलबार मृत्यु भएको विषयमा उनका आफन्तले कारण जान्न खोज्दा विवाद भएको थियो । विवाद सुल्झाउन राति अबेरसम्म वार्ता भइरहेको अवस्थामा मृतकका आफन्त र अस्पताल व्यवस्थापनबीच विवाद बढ्दा अस्पतालका मेसु डा. बस्यालमाथि हातपात भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भइरहेको छ ।

विवादका क्रममा चिकित्सकमाथि हातपात गर्ने मृतकका आफन्तमध्येका केही व्यक्तिलाई नियन्त्रणमा लिइएकोसमेत प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए। लुम्बिनी चिकित्सक संघका सचिव डा. सन्तोष पोखरेलले चिकित्सकमाथि हातपात हुनु गलत भएको बताए । 
 

See More On

सुझावित समाचार