ओलीले झुलाघाटमा पदयात्रा उद्घाटन गर्ने

बुधबार, १३ मंसिर, २०८०
डिजिटल संस्करण

एक हजार आठ सय ७९ किलोमिटर यात्रा गरिने

पार्टीले सुरु गर्न लागेको ‘समृद्धिका लागि मध्यपहाडी लोकमार्ग पदयात्रा’को उद्घाटनका लागि एमाले अध्यक्ष केपी ओली सुदूरपश्चिम आइपुगेका छन् । उनले बिहीबार बिहान साढे ८ बजे बैतडीको झुलाघाटमा पदयात्राको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसका लागि अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरू मंगलबार बेलुकी धनगढी आइपुगेका छन् । उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायत नेताहरू बुधबार बिहान नियमित उडानबाट धनगढी आउने एमालेले जनाएको छ । अध्यक्षसहित नेताहरू बुधबार बैतडी जाने कार्यक्रम छ । 

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरेर पदयात्रा उद्घाटनको तयारी लगभग पूरा भएको जनाएको छ । एमाले केन्द्रीय सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माका अनुसार अध्यक्ष ओलीले झुलाघाटमा राष्ट्रिय झन्डा फहराएर गरेर पदयात्राको उद्घाटन गर्नेछन् । त्यही दिन बैतडीको गोठालापानीमा आमसभा गर्ने तयारी छ । 

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म हुने पदयात्राअन्तर्गत सुदूरपश्चिममा डडेल्धुरा, डोटी र अछामका विभिन्न स्थानमा जनसहभागितामा सभाहरू गरिने इन्चार्ज विश्वकर्माले जानकारी दिए । ती सभाहरूलाई अध्यक्ष ओलीलगायत नेताहरूले सम्बोधन गर्ने बताइएको छ । ऐतिहासिक, पुरातात्विक स्थलहरू एवं कृषि क्षेत्रको अवलोकन गर्ने, जनताका राय–सुझावहरू पनि लिइने उनले बताए । 

एमालेले तीन साता चल्ने यो यात्रालाई समृद्धिका लागि संकल्प यात्रा भनेको छ । पदयात्राअन्तर्गत एक हजार ८७९ किलोमिटर यात्रा गरिने एमालेले जनाएको छ । सुदूरपश्चिममा अछामबाट पदयात्रा टोलीलाई कर्णाली प्रदेशका लागि १७ मंसिरमा बिदाइ गरिने एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले जानकारी दिएका छन् । उनका अनुसार अभियानअन्तर्गत सुदूरपश्चिममा तीन सय ५८ किलोमिटर यात्रा गरिनेछ । पहाडको विकासको समस्या पहिचान गरी समृद्धिलाई अघि बढाउने भन्दै एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित गरेर पदयात्रा सुरु गर्ने निर्णय गरेको थियो । 

See More On

सुझावित समाचार