गाजामा युद्धविराम बढाउन मध्यस्थता प्रयास जारी

सोमबार, ११ मंसिर, २०८०
डिजिटल संस्करण
गाजामा युद्धविराम बढाउन मध्यस्थता प्रयास जारी

तस्बिर : एपी

इजरायल–हमास मानवीय युद्धविरामलाई बढाउन मध्यस्थता प्रयासलाई तीव्रता दिइएको प्यालेस्टिनी स्रोतले आइतबार बताएको छ । 

‘विद्यमान चारदिने युद्धविराम लम्ब्याउने र दुवै पक्षबीच ठूलो मात्रामा बन्दी आदान–प्रदान गर्ने उद्देश्यसहित कतार र इजिप्टले इजरायल र हमासलाई एउटा मस्यौदा सम्झौताबारे जानकारी गराएका छन्,’ नाम उल्लेख नगर्ने सर्तमा प्यालेस्टिनी स्रोतले सिन्ह्वालाई भनेको छ । 

छलफलमा गाजामा ४० देखि ५० बन्दीको रिहाइ तथा मानवीय संकट कम गर्नका लागि प्रभावित क्षेत्रमा मानवीय सहयोगको वृद्धिबारे कुराकानी भएको स्रोतले बताएको छ ।

हमासले कतार–इजिप्ट प्रस्तावप्रति प्रारम्भिक इच्छा देखाएको छ । आइतबार राति हमासका एक प्रतिनिधिले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हमास युद्धविरामलाई चार दिनभन्दा अगाडि बढाउन खोजिरहेको छ, यसमा सुरुमा इजरायलसँग सहमति भएको थियो ।’

यसैबीच इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासले थप बन्धकहरूलाई मुक्त गर्ने हो भने इजरायल हमाससँगको युद्धविरामलाई केही दिनका लागि बढाउन सहमत हुन सक्ने बताएका छन् । 

एक इजरायली भिडियो बयानअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको टेलिफोन वार्तामा नेतान्याहुले कतारको मध्यस्थतामा भएको युद्धविराम सम्झौतामा उल्लेख भएअनुसार रिहा गरिएका प्रत्येक थप १० बन्धकका लागि एक अतिरिक्त दिनका आधारमा युद्धविरामको ‘स्वागत गर्ने’ बताएका छन् ।

गाजापट्टीमा अस्थायी युद्धविराम आइतबार तेस्रो दिनमा प्रवेश गरेको छ । युद्धविराम सम्झौतामा इजरायली कारागारहरूबाट एक सय ५० महिला तथा बालबालिका रिहा गरेको बदलामा गाजाबाट ५० इजरायली महिला तथा किशोर बन्धकलाई मुक्त गर्ने पनि उल्लेख छ । सम्झौतापछिको चरणहरूमा रिहाइको संख्या बढाउने व्यवस्था गरिएको छ । (सिन्ह्वा/रासस)

सुझावित समाचार