कोप– २८ जलवायु शिखर सम्मेलनमा बाइडेन सहभागी नहुने

सोमबार, ११ मंसिर, २०८०
डिजिटल संस्करण

अमेरिकी नेतृत्वलाई उजागर गर्ने अपेक्षामा वार्तामा भाग लिएको दुई वर्षपछि दुबईमा हुने पछिल्लो संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलन अमेरिकी राष्ट्रपति जो बाइडेनले गुमाउने एक अमेरिकी अधिकारीले आइतबार बताएका छन्।

बिहीबार सुरु हुन लागेको कोप– २८ मा राष्ट्रिय नेताहरू र पोप फ्रान्सिससहित करिब ७० हजार मानिस सहभागी हुने अपेक्षा गरिएको छ। यो अहिलेसम्मको सबैभन्दा ठूलो संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलन हुन सक्छ।

राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसका लागि ह्वाइटहाउसले जारी गरेको तालिकामा यो साता उनीहरू दुबई जाने उल्लेख छैन। बाइडेनको व्यस्ततामा वायु ऊर्जामा अमेरिकी लगानी उजागर गर्नका लागि कोलोराडोको भ्रमण, अंगाेलाका राष्ट्रपतिसँग बैठक र राष्ट्रिय क्रिसमस ट्रिको प्रकाश सामेल छन्।

बाइडेनले यो साता कोप– २८ मा वा डिसेम्बर १२ को वार्ताको अन्त्यको दोस्रो सत्रमा भाग लिने योजना नबनाएको एक अमेरिकी अधिकारीले पुष्टि गरेका छन्। दुबईमा एउटा उच्चस्तरको अधिकारीलाई पठाउने वा नपठाउने भन्नेबारेमा बाइडेन प्रशासनले छलफल गरिरहेको नाम नछाप्ने सर्तमा ती अधिकारीले बताए।

पूर्वविदेशमन्त्री, सिनेटर तथा अमेरिकी जलवायु दूत जोन केरीले अमेरिकाका लागि प्रत्येक दिन बैठकको नेतृत्व गर्दै छन्। बाइडेनले कोप– २८ मा भाग नलिने निर्णयको कारणबारे ती अधिकारीले केही बताएनन्। यद्यपि, बाइडेनले एक महिनाभन्दा लामो समयदेखि इजरायल र हमासबीचको युद्धमाथि ध्यान केन्द्रित गरिरहेका छन् र अमेरिकी राष्ट्रपति निर्वाचनका लागि एक वर्षभन्दा पनि कम समयमा घरेलु एजेन्डालाई उजागर गर्न खोजिरहेका छन्।

बाइडेनसम्म अमेरिकी राष्ट्रपतिका लागि प्रत्येक कोप शिखर सम्मेलनमा भाग लिने चलन थिएन। आफ्ना पूर्ववर्ती डोनाल्ड ट्रम्प पेरिस जलवायु सम्झौताबाट बाहिरिएपछि अमेरिकाले पुनः जलवायुमाथि विश्वव्यापी नेतृत्वको भूमिका निर्वाह गर्ने प्रतिज्ञा गर्नका लागि सन् २०२१ मा बाइडेनले ग्लासगोको भ्रमण गरेका थिए। 

ह्वाइटहाउस जान खोजिरहेका ट्रम्प जलवायुप्रति संशयवादी छन् र यो कार्य अमेरिकाका लागि अत्यन्त महँगाे हुने बताउँछन्।

राष्ट्रपति बाइडेनले गत वर्ष पुनः इजिप्टको शार्म अल–शेखमा कोप– २७ को एउटा छोटो भ्रमण गरेका थिए। तथाकथित मुद्रास्फीति न्यूनीकरण ऐन र विद्युतीय कारका लागि प्रोत्साहनसहित हरित अर्थतन्त्रका लागि अर्बौँ डलरको लगानी गर्दै उनले घरेलुस्तरमा जलवायुलाई उच्च प्राथमिकता दिएका छन्। 

कोप– २८ शिखर सम्मेलनअघि केरीले आफ्ना चिनियाँ समकक्षी झी झेनहुआसँग विस्तारित वार्ता गरेका थिए। उनीहरूले विश्वका सबैभन्दा दुई ठूला हरितगृह ग्यास उत्सर्जक आ–आफ्ना मुलुकले दुबईमा प्रगतिका लागि मिलेर काम गर्ने वाचा गरेका थिए।

सुझावित समाचार