सर्लाहीको बसबरियामा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ । बसबरिया गाउँपालिका– ५, धनगढामा घाँस काट्ने क्रममा करेन्ट लाग्दा सोही स्थानकी ७० वर्षीया बिल्टीदेवी यादवको ज्यान गएको हो ।
खेतनजिकै रहेको एनसेलको टावरबाट नजिकैको विद्यालयमा लगेको विद्युत् तारबाट वृद्धालाई करेन्ट लागेको प्रहरीले जनाएको छ । टावरबाट विद्यालयमा करेन्ट सप्लाई गरेको तार चुँडिएर खेतमा खसेको र सोही तारबाट वृद्धालाई करेन्ट लागेको प्रहरीको अनुमान छ ।
मृतक वृद्धाको शव परीक्षणको लागि अहिले प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी दीपेन्द्र पञ्जियार थारूले जानकारी दिए ।