पहिलो चौमासिकमा घरजग्गाकाे कारोबार बढ्यो

शनिबार, ९ मंसिर, २०८०
डिजिटल संस्करण

एक लाख ४० हजार आठ सय ७६ घरजग्गाको लिखत पारित, झन्डै सवा १२ अर्ब रुपैयाँ राजस्व संकलन

चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म गत वर्षको यसै अवधिको तुलनामा घरजग्गा कारोबार बढेको छ । चार महिनामा देशभरका मालपोत कार्यालयबाट एक लाख ४० हजार आठ सय ७६ घरजग्गाको लिखत पारित भएका छन् । जबकि, गत आर्थिक वर्षको यही अवधिमा एक लाख २२ हजार दुई सय ८२ घरजग्गाको लिखत पारित भएको थियो ।

घरजग्गा कारोबार बढेसँगै मालपोत राजस्व संकलन पनि बढेको भूमि व्यवस्थापन विभागको तथ्यांकले देखाएको छ । देशभर रहेका एक सय २६ मालपोत कार्यालयबाट चार महिनामा १२ अर्ब २१ करोड राजस्व संकलन भएको छ । गत वर्षको सोही अवधिमा मालपोत राजस्व ११ अर्ब ८८ करोड संकलन भएको थियो । यो राजस्वमा रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर, सेवा शुल्क, बागमती सभ्यता शुल्क, अनलाइन सेवा लिएबापतको शुल्क, रिकभर शुल्क, विलम्ब शुल्कलगायत विभिन्न शीर्षकको आम्दानी जोडिएको हुन्छ ।

घरजग्गा कारोबारमा उतारचढाव 
चालू आर्थिक वर्षको पहिलो महिनामा ३९ हजार दुई सय ६३ घरजग्गाको लिखत पारित भएको थियो । भदौमा घरजग्गा कारोबार घटेर देशभर ३५ हजार ६ सय ८६ घरजग्गाको मात्र लिखत पारित भयो । दसैँको पूर्वसन्ध्या असोजमा पुनः कारोबार बढेर ३९ हजार आठ सय ८१ पुगेको थियो भने कात्तिकमा फेरि पनि घटेर २६ हजार ४६ मा समेटिएको छ । कात्तिकमा दसैँ, तिहार र शनिबार गरेर करिब १५ दिन देशैभरका मालपोत कार्यालयहरू बन्द हुँदा घरजग्गा कारोबार कम भएको हो ।

चालू आर्थिक वर्षको साउनमा दुई अर्ब ९१ करोड रुपैयाँ मालपोत राजस्व संकलन भएको थियो भने भदौमा तीन अर्ब चार करोड ५९ लाख, असोजमा चार अर्ब आठ करोड ६६ लाख र कात्तिकमा दुई अर्ब १६ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । कात्तिकमा घरजग्गा किनबेच घटेपछि राजस्व संकलन पनि घटेको भूमि व्यवस्थापन विभागले जनाएको छ ।

सरकारले भूउपयोग नियमावली–२०७९ जारी गरेर कित्ताकाटमा कडाइ गरेपछि गत वर्ष घरजग्गा कारोबार सुस्ताएको थियो । साथै, तरलता अभाव, चर्को ब्याजदर, महँगीलगायत कारण कारोबार बढ्न सकेको थिएन । तर, चौतर्फी विरोध भएपछि सरकारले पछिल्लो समय पुरानै अवस्थामा कित्ताकाट खुलाएको छ । कित्ताकाट खुलेपछि देशैभर घरजग्गा कारोबार बढ्ने र घरजग्गामा फ्रिज भएर बसेको पैसा प्रणालीमा आएर अर्थतन्त्र चलायमान हुने सरकारको अपेक्षा छ । तर, कित्ताकाट खुले पनि घरजग्गा कारोबार यो वर्षकै वैशाख, जेठको तुलनामा भदौ, असोज र कात्तिकमा घटेको छ । तर, गत वर्षको यसै अवधिको तुलनामा भने बढेको देखिन्छ ।

कित्ताकाट खुल्नुका साथै बैंकको ब्याजदरसमेत घट्दै गइरहेका कारण मंसिरदेखि घरजग्गा कारोबार बढ्ने अपेक्षा घरजग्गा व्यवसायीको छ । बैंकहरूले तरलता (लगानीयोग्य रकम) बढ्दै गएपछि महिनैपिच्छे ब्याज घटाउन थालेका छन् । अहिले व्यक्तिगत मुद्दती निक्षेपकै औसत ब्याजदर १० प्रतिशतभन्दा तल झरिसकेको छ । बैंकले सस्तो ब्याजदरका घरजग्गा कर्जा योजना पनि ल्याउन थालेका छन् । 

See More On

सुझावित समाचार