ठूलो एकादशीमा कोलाहल

समाजमा नैतिक र सामाजिक साख नभएका व्यक्तिलाई सरकारले महत्व दिने हो भने नेपाली समाज कहिल्यै पनि अघि बढ्न सक्दैन

शुक्रबार, ८ मंसिर, २०८०
डिजिटल संस्करण

बितेका केही दिनदेखि विभिन्न सामाजिक सञ्जाल र सामाजिक सञ्जालकै शैलीमा सञ्चालित विभिन्न पत्र–पत्रिकाले अनुमान गरेजस्तो नेपाल कम्युनिस्ट पार्टी (एमाले) को युवा संघका नेता महेश बस्नेत र एमाले पार्टीकै पूर्वकेन्द्रीय सदस्य दुर्गा प्रसाईंका समर्थकबीच, बिहीबार अपराह्न यी पंक्तिहरू लेखियुन्जेलसम्म घोर–घमासानका द्वन्द्व भएका थिएनन् ।

एकजनाले लोकप्रिय मानिने सामाजिक सञ्जाल फेसबुकमा लेखे– राजा फाल्न लडेका युवाहरू राजा भएको देशमा गएर काम गर्नुपरेको छ । उनले सबैको मन छुने टिप्पणी लेख्न खोजेका थिए । तर, यो कुरा बुझेका थिएनन्– रोजगारीका लागि विदेश, खासगरी खाडी मुलुक, जाने चलन राजा वीरेन्द्रको शासनकालदेखि नै चलेको थियो । उता, खाडीका देशहरू पेट्रोलियमका कारण धनी हुँदै गएका थिए । यता हाम्रो देश राजपरिवारको वरद नेतृत्वमा जनसंख्या नियन्त्रणमा सक्रिय थियो । हामी जनशक्ति उत्पादनमा अब्बल बन्दै गयौँ । अरू देश धनी बन्दै गए । हामी कमाराको अवस्थामा ओर्लियौँ । 

यो अवस्थाले हामीलाई घर न घाटको स्थितिमा ल्याइपुर्यायो । राजा वीरेन्द्रले विकासको मूल फुटाउन आह्वान गरे जनतासँग । त्यसैका लागि उनले गाउँफर्क राष्ट्रिय अभियानको थालनी गरे । तर, कुनै कोणबाट पनि जनतासँग नजोडिएको यो अभियान देशका लागि अभिशाप र राजाका लागि अनिष्ट सावित भयो । गरिबी र बेरोजगारी बढ्दै गएपछि देशमा विद्रोहका लप्काहरू छ्यापछयाप्ती भए । ०३६ साल आयो । विपत्तिसँग लड्न लोकतान्त्रिक समाधान खोजियो । राजा महेन्द्रको मनोगत सिर्जनाका रूपमा रहेको निर्दलीय पञ्चायत व्यवस्था र लोकतान्त्रिक व्यवस्थाबीचको जनमतसंग्रहमा झिनो मतले निर्दल जित्यो । नेपालका विख्यात वामपन्थी नेता मनमोहन अधिकारीले आरोप लगाउनुभयो– निर्दललाई जिताउन जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा जाली मतपत्र छपाइएका थिए । 

नेताहरूले संगतिको खोजमा नलागेर शासनसत्ताको अभिमानमा डुबुल्की मारिरहने हो भने भविष्यको कुरा गर्नु नै निरर्थक हुन्छ । यो ठूलो एकादशी कोलाहलमा बित्यो । आउने अर्को अवसर सौम्य र शान्त रहोस् ।

देशमा आज पनि कृषिमलको एउटा कारखाना खुल्न सकेको छैैन । तर, त्यही समयमा देशमा सूर्य टोबाको कम्पनी खुल्यो । यस कम्पनीमा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहको स्वामित्व थियो । विकासप्रेमी राजा वीरेन्द्रले हस्तक्षेप गरेको भए परिस्थिति सुध्रिने थियो, तर सुध्रिएन । सरकारी स्वामित्वको जनकपुर चुरोट कारखाना बेवारिसे भयो । सूर्य टोबाकोको एकाधिकार कसिँदै गयो । यो चार दशक पुरानो घटनाको उल्लेख आफैँमा तीतो अनुभूति हो । तर, देशमाथि जनताको पूर्ण स्वामित्व रहेको गणतन्त्रविरुद्ध जस–जसले प्रतिक्रान्तिको नारा लगाएका छन् वा लगाउँदै छन् तिनले निरंकुश राजतन्त्रको विकृत अनुहारलाई छोप्न खोजेका छन् र ती सबैको अनुहारमा कालोमोसो पोतिएको स्पष्ट देख्न सकिन्छ ।

यो सत्य हो, ०४६ सालको परिवर्तनपछि परिवर्तनका संवाहक बनेका नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) का नेताहरू अलिकति पनि विवेकशील भएनन् । ०४७ सालमा भएको संसदीय चुनावपछि गठन भएको नेपाली कांग्रेसको बहुमतको सरकार नेताहरूको अहंकारको सिकार भयो । ०५२ सालसम्म आइपुग्दा यति धेरै विकृति थुप्रिए कि जनताले चित्त बुझाउनै पाएनन् । राजनीतिका चतुरतम खेलाडी मानिएका गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा दुवैले लोकतन्त्रको सन्तुलित प्रयोग गर्न सकेनन् । त्यतिवेला कांग्रेस र एमाले पारस्परिक दुस्मनीमा रमाए । 

नेपालमा आएको संघीय गणतन्त्र हिजोको व्यवस्था पक्कै होइन । यो त गणतन्त्र हो भनेर खुसी व्यक्त गर्नेहरू थुप्रै छन् र जताततै छन् । लौ त, यसविरुद्ध कसले औँला ठड्याउँछ हेरूँ त ! भन्ने भावमा नेताहरू कुर्लिएको देखिन्छ । तर, एउटा–एउटा सानो महामारीले सरकारलाई हाराबारा खेलाउँदै आएको छ । प्रधानमन्त्रीको मुखबाट अर्थ न बर्थका वाणीहरू प्रकट भइरहेका छन् । यो कुरा के हो त ? यस्तो किन हुन्छ ? राजनीति गर्ने प्रत्येक महापुरुषलाई हामीले यो कुरा सोध्यौँ भने जवाफ आउँछ, ‘होइन, प्रचण्डले नसकेको हो । मैले भए गर्छु ।’  

 प्रचण्डले नसकेको भनेर कसरी पत्याउनु ? संसद्को चुनावमा बत्तीस सिट जितेर निर्बिघ्न सरकार चलाउने उहाँको खुबी सावित भइसकेको छ । उहाँले हालै भारतको भ्रमणमा उज्जैन गएर त्यहाँको प्रसिद्ध तीर्थ महाकालेश्वरको दर्शन गर्नुभयो । राजनीतिक दर्शनशास्त्रका पुस्तकमा जे लेखिएको छ, त्यसलाई यथावत् मान्नुभन्दा त्यसका अर्थ र उपादेयतामा ध्यान दिनु बुद्धिमानी हुने त पक्कै छ ।

देशमाथि जनताको पूर्ण स्वामित्व रहेको गणतन्त्रविरुद्ध जस–जसले प्रतिक्रान्तिको नारा लगाएका छन् वा लगाउँदै छन्, तिनले निरंकुश राजतन्त्रको विकृत अनुहारलाई छोप्न खोजेका छन् 
 

जतिवेला देशमा माओवादी संकट छाएको थियो, त्यतिवेला पनि ‘मैले सक्छु’ भनेकै भरमा बारम्बार प्रधानमन्त्री फेरिएका थिए । ‘अरूले गर्न सकेनन् । यो समस्याको समाधान मबाट मात्रै हुन सक्छ, मैले भए गर्छु’ भनेर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभएको थियो । त्यसअघिका दुई प्रधानमन्त्रीत्वकाल भ्याइसक्नुभएका गिरिजाबाबुलाई त्यसपछि पनि प्रधानमन्त्री पदको शपथ–ग्रहण गर्ने साइत पटकपटक जुरिरह्यो । गिरिजाप्रसादको साइतको त्यो लहरो अस्तित्वशील रहेका वेलामै एकपटक फेरि शेरबहादुरले घोषणा गर्नुभो, म माओवादीलाई मिलाउँछु । उहाँ प्रधानमन्त्री हुनुभयो । त्र, माओवादीलाई मिलाउन सक्नुभएन । अहिलेका कुनै पनि नेतालाई यस्तै लागेको हुन सक्छ । आफू प्रधानमन्त्री भए मुलुकलाई एक दशकभित्र भूस्वर्ग बनाउने दाबी गर्नेहरू संसदीय परिसरमा थुप्रै भेटिन्छन् । अहिलेको व्यवस्थालाई सबैले बुझेका छन्, यो संसदीय व्यवस्थाकै एउटा अर्को संस्करण हो । सुरुमा माओवादीका सर्वोच्च नेताको हैसियतले प्रचण्डजीले यसमा चित्त बुझाउनुभएको थिएन । निकै पछिसम्म पनि माओवादी नेताहरू आफू संसदीय व्यवस्थामा समाहित नभएको बताउँथे ।

राजा वीरेन्द्रको वंशनाशको रहस्यमय    घटनापछि देशमा स्थापित लोकतान्त्रिक पद्धति अस्थिर भयो । राजाका रूपमा स्थापित ज्ञानेन्द्र शाहले लोकतान्त्रिक पद्धतिमा अनेक विकृत प्रयोग गरे । पञ्चायतकालको प्रारम्भमा आफ्ना पिता राजा महेन्द्रले व्यवस्थाको पक्षमा प्रयोग गरेका नामी–गिरामी व्यक्तित्वलाई वरिपरि राखेर आफूलाई कार्यकारी प्रमुखका रूपमा प्रस्तुत गर्ने ‘महाराज’ ज्ञानेन्द्रको प्रयोग सामन्तवादको नमुना थियो । यस घटनाले देशमा लोकतन्त्रको अपरिहार्यता सावित ग¥यो । ज्ञानेन्द्रले लोकतन्त्रको उपेक्षा गरेपछि नेपालका लागि संघीय गणतन्त्र अपरिहार्य बनेको हो । 

निश्चय पनि, ज्ञानेन्द्र अहिलेका घटनाक्रममा कतै जोडिएका देखिँदैनन् । हो, भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सामीप्यमा उनी रमाउँछन् । योगी आदित्यनाथमाथि उनको भरोसा छ । गोर्खाका कनफट्टा सम्प्रदायसँग योगीको सम्बन्ध भारतमा भन्दा बढी नेपालमा चर्चित छ । तर, समस्या के छ भने आध्यात्मिक शक्तिका हिसाबले जतिसुकै शक्तिशाली भए पनि योगी आदित्यनाथमा राजा ज्ञानेन्द्रलाई पुनः सिंहासनारुढ गराउने शक्ति छैन । भारतीय राजनीतिमा त्यो एक हिसाबले दुरुह चिन्तन हो । उसो त, महाराज ज्ञानेन्द्र मात्रै योगी आदित्यनाथका सामीप्यमा रमाउने व्यक्ति होइनन् । नेपालको राजनीतिमा सफल हुने सूत्रको खोजीमा लागेका कांग्रेस, एमाले, माओवादी, जसपा, लोसपालगायत दलका ‘महत्वपूर्ण’ नेताहरू हिजोआज उत्तर प्रदेशको राजधानी तथा नवावी सहर लखनउको चारवागतिर भेटिने गरेको जानकारी नेपालगन्जका पत्रकार मित्रहरूबाट पाइन्छ । 

दुर्गा प्रसाईंले आफ्नो जिब्रो पड्काउन मात्र ज्ञानेन्द्रको नामको उपयोग गरेको मान्नु पनि कठिन नै हुन्छ । तर, दक्षिण एसियाको मौसम अहिले नेपालमा परिवर्तनको अनुकूल देखिँदैन । यी कुरा प्रधानमन्त्री प्रचण्ड तथा अरू जिम्मेवार नेताले बुझेकै होलान् । समाजमा नैतिक र सामाजिक साख नभएका व्यक्तिलाई सरकारले महत्व दिने हो भने नेपाली समाज कहिल्यै पनि अघि बढ्न सक्दैन । नेताहरू संगतिको खोजमा नलागेर शासन–सत्ताको अभिमानमा डुबुल्की मारिरहने हो भने भविष्यको कुरा गर्नु नै निरर्थक हुन्छ । यो ठूलो एकादशी कोलाहलमा बित्यो । आउने अर्को अवसर सौम्य र शान्त रहोस् ।

सुझावित समाचार