चितवनमा एकै दिन भेटिए तीनवटा शव

भरतपुरमा बोराभित्र महिला र पुरुषको शव, खैरहनीमा मृत अवस्थामा वृद्ध

बिहिबार, ७ मंसिर, २०८०
डिजिटल संस्करण

चितवनमा एकै दिन तीनजनाको शव फेला परेको छ । पूर्व–पश्चिम (महेन्द्र) राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका– १२ मिलनचोकनजिकै कल्भर्टमा बोराभित्र दुईवटा शव फेला परेको हो । 

खैरहनी नगरपालिका– ९ मा रहेको नमुना टायर सोलिङ ग्यारेजको छेउमा रहेको झाडीमा घोप्टो अवस्थामा गोरखाको सहिद लखन गाउँपालिका– ९ नामजुङ घर भएका ५१ वर्षका ऋषिराम बस्नेत बुधबार मृत फेला परेका हुन् । बाहिरी चोटपटक नदेखिएकाले बस्नेतको मृत्युलाई प्रहरीले स्वाभाविक मृत्युका रूपमा लिएको छ । तर, भरतपुरमा भेटिएको दुईवटा शव भने हत्या गरेर फालिएको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ । जुटको दुई छुट्टाछुट्टै बोरामा रहेका शव एक महिलाको र अर्को पुरुषको भए पनि थप पहिचान भएको छैन । तीनवटै शव अहिले भरतपुर अस्पतालको पोस्टमार्टम घरमा राखिएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितका अनुसार भरतपुरमा भेटिएको शव अन्यत्रै हत्या गरेर ल्याई फालेजस्तो देखिन्छ । खोलामा माछा मार्न पुगेका मानिसले बोराबाट गन्धसँगै मानिसको हात देखेपछि शंका लागेर प्रहरीलाई खबर गरेका थिए । डिएसपी पण्डितका अनुसार हातखुट्टा बाँधिएको अवस्थामा छुट्टाछुट्टै बोरामा रातमा लगाउने वस्त्रसहितको महिला र पुरुषको शव फेला परेको छ । ‘शवको प्रकृति हेर्दा चार–पाँच दिनअघि हत्या भएजस्तो देखिन्छ,’ उनले भने, ‘शव गलिसकेकाले पहिचान गर्नसमेत मुस्किल देखिएको छ । अन्दाजी ३५ वर्षका तराई मूलका पुरूष र ३० वर्षमुनिका मंगोलियन समुदायको महिलाको जस्तो शव छ ।’ प्रहरीले दुवै घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

भरतपुर महानगरपालिका– १४ बरौजीमा घरभित्रै मृत अवस्थामा फेला परेका वृद्धबारे एक हप्ता बित्दा पनि प्रहरीले अनुसन्धान टुंगो लगाउन सकेको छैन । डिएसपी पण्डितका अनुसार ६७ वर्षीय विष्णुप्रसाद तिवारी २६ कात्तिक बिहान मृत भेटिएका थिए । उनको अघिल्लो दिन हत्या भएको अनुमान छ । ‘साँझको समयमा घरभित्र लक्ष्मीपूजा गर्दै गरेको वेला इँटाले हानेर मारेको जस्तो देखिन्छ । कन्चटको एक भागमा इँटाले हानेको गहिरो डोब पनि थियो,’ पण्डितले भने, ‘शव नजिकै इँटा पनि थियो ।’ प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थल पुगेको थियो । 

See More On

सुझावित समाचार