नयाँ कार्यालयबाट कार्यभार सम्हाल्दै प्रधानमन्त्रीले भने- यो ठाउँ मात्र सारिएको होइन, नयाँ संकल्प हो

बुधबार, ६ मंसिर, २०८०
डिजिटल संस्करण

विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवनको पश्चिमतर्फको भाग पुनः निर्माण सम्पन्न भएको छ।

पुनः निर्माण सम्पन्न भएको सो भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नयाँ कार्यालय स्थापना गरिएको छ। प्रधानमन्त्रीले आज सो कार्यालयको उद्घाटन गर्दै कार्यारम्भ सम्हालेका छन्। 

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सरेको उल्लेख गर्दै प्रधानमन्त्रीले दाहालले भने, ‘यो खाली ठाउँ मात्र सारिएको होइन। कामको प्रकृति र गुण पनि नयाँ ढंगले जाने संकल्प पनि यसभित्र रहेको मैले महसुस गरेको छु।’

एक सय २० वर्ष पुरानो यो भवनलाई त्यसको मूल संरचना जस्ताको तस्तै राखेर पुनर्निर्माण भएको छ। भूकम्पबाट क्षति भएको यस भवनको ‘रेट्रोफिटिङ’को काम पनि पूरा भएको छ।

‘हामी पछाडिबाट अगाडि आएका हौँ। मलाई अहिले भइरहेको ठाउँमा बस्दा अलि गुम्म लाग्नुका साथै त्यति ताजकी महसुस नभएजस्तो लाग्थ्यो,’ प्रधानमन्त्रीले भने, ‘यो ठाउँमा आउँदाचाहिँ अलिकति सबैतिर हेर्न पाइने भएको छ । बरन्डामा पनि निस्केर हेर्न मिल्ने र फराकिलो सबै कारणले यहाँ दिमाग अलि बढी फुर्छ होला भन्ने मैले महसुस गरेको छु।’

२०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले सो भवनमा क्षति पुगेको थियो । त्यसलाई पुनर्निर्माण गरिएको हो। 

सुझावित समाचार