काठमाडौं प्लाजा नै किन्ने तयारीमा महानगर

बुधबार, ६ मंसिर, २०८०
डिजिटल संस्करण
काठमाडौं प्लाजा नै किन्ने तयारीमा महानगर

काठमाडौं प्लाजा

मासिक ६० लाख ५० हजार भाडा तिर्ने गरी नेपाल ट्रस्टको भवन काठमाडौं प्लाजामा बसाइँ सरेको काठमाडौं महानगरपालिकाले सोही भवन नै किन्ने तयारी गरेको छ । काठमाडौं प्लाजाबाट महानगरका सबै विभाग तथा शाखा, महाशाखाहरू सञ्चालन गर्न सहज हुने र एकै भवनबाट सेवा प्रवाह गर्न सकिने भन्दै महानगरले सो भवन खरिद गर्ने तयारी गरेको हो । 

हाल रेट्रोफिटिङ प्रक्रिया अघि बढेको सुन्धारास्थित बागदरबार तयार भइसके पनि त्यहाँ महानगरका सबै कार्यालय अट्दैनन् । सबै कार्यालय अटाउन काठमाडौं प्लाजा नै उपयुक्त देखिने निष्कर्षसहित त्यसलाई आफ्नै बनाउन मेयर बालेन्द्र साह नै अघि बढेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । उनका अनुसार काठमाडौं प्लाजा किन्ने विषयमा नेपाल ट्रस्ट र संघ सरकारसँग छलफल भने भइसकेको छैन । 

नवीन मानन्धर, प्रवक्ता, काठमाडौं महानगर
पहिले यत्रतत्र रूपमा महानगरका कार्यालय छरिएका थिए, त्यति वेला सेवाग्राही, कर्मचारी र जनप्रतिनिधिलाई काम गर्न निकै सकस थियो । अहिले एउटै भवनमा सबै कार्यालय अटेका छन्, यो भवन नै हामीले किन्ने सोच बनाएका छौँ । काठमाडौं प्लाजा नेपाल सरकारकै भवन भएकाले खरिद गर्न सहज हुनेछ ।

‘पहिले यत्रतत्र रूपमा महानगरका कार्यालय छरिएका थिए, त्यति वेला सेवाग्राही, कर्मचारी र जनप्रतिनिधिलाई काम गर्न निकै सकस थियो,’ प्रवक्ता मानन्धरले भने, ‘अहिले एउटै भवनमा सबै कार्यालय अटेका छन्, यो भवन नै हामीले किन्ने सोच बनाएका छौँ ।’ १ साउनदेखि काठमाडौं प्लाजा भाडामा लिएर बसाइँ सरेको महानगरपालिकाका सबै विभाग, शाखा र महाशाखाहरू त्यहाँ अटाएका छन् । काठमाडौं प्लाजा नेपाल सरकारकै भवन भएकाले खरिद गर्न सहज हुने प्रवक्ता मानन्धरले बताए । 

हाल काठमाडौं प्लाजालाई महानगरले मासिक ६० लाख ५० हजार रुपैयाँ भाडा तिर्छ । उक्त भाडा निकै चर्को भएकाले आफ्नै भवनमा बस्न महानगरलाई धेरैले सुझाव दिएका थिए । तर, मेयर साहले कार्य सम्पादनलाई व्यवस्थित बनाउन एउटै भवन आवश्यक रहेको भन्दै काठमाडौं प्लाजा भाडामा लिने सम्झौता गरेका थिए ।

सेवा एकीकृत गर्न भन्दै ०७७मा मन्त्रिपरिषद् निर्णयबाट नेपाल ट्रस्टको काठमाडौं प्लाजा भाडामा दिने निर्णय भएको थियो । ०७२ को भूकम्पपछि महानगरको प्रशासनिक सेवा सुन्धारास्थित जेडिए कम्प्लेक्सबाट सञ्चालन भइरहेको थियो । कम्प्लेक्सलाई महानगरले मासिक १८ लाख रुपैयाँ भाडा तिर्दै आएको थियो ।

तर, गत १ साउनदेखि भने उक्त भवन महानगरले छाडेको थियो । काठमाडौं प्लाजामा सबै विभाग, शाखा, महाशाखा अटेका छन् भने क्यान्टिन पनि यसभित्र बनाउन दिने तयारी गरिएको छ ।

यस भवनमा७० वटा चारपांग्रे र सयवटा मोटरसाइकल पार्किङ गर्न मिल्छ । भवनसँगैको दुई रोपनी खाली जग्गा पनि महानगरले प्रयोग गरेको छ । त्यस्तै, टुकुचा खोलाको नजिकै रहेका अन्य साना सरकारी भवन पनि महानगरले नै प्रयोग गर्ने सम्झौता गरिसकेको छ ।

बागदरबारस्थित कार्यालय पनि २६ वर्षअघि लिएको थियो महानगरले
हाल महानगरपालिकाको कार्यालय रहेको बागदरबार पनि विगतमा काठमाडौं महानगरको नाममा थिएन । ०५४ मा टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग बागदरबार साटासाट गरिएको थियो । तत्कालीन समयमा मेयर केशव स्थापित थिए । काठमाडौं प्लाजाको भवन पनि कुनै अन्य संरचनासँग साटेर लिने योजना महानगरको छ । महानगरले टेकुमा निर्माणाधीन भवन र न्युरोडको सांस्कृतिक भवन केन्द्र सरकारलाई दिएर काठमाडौं प्लाजा लिन खोजिरहेको छ ।

सुझावित समाचार