कांग्रेसको इतर समूहका नेता महामन्त्री गगन थापा र डा. शेखर कोइरालाबीच संवादहीनता किन बढ्यो ?
नेताहरूबीचको संवादहीनता एकोहोरो होइन, दोहोरो प्रक्रिया हो । खासगरी संसदीय दलको नेतामा कांग्रेस महामन्त्री गगन थापाले अपेक्षाअनुसार मत नपाएपछि समूहभित्रै अविश्वास र संशय बढेको देखिन्छ । अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवानेता प्रदीप पौडेललाई भूमिका दिनेबारे महामन्त्रीको प्रस्तावमा डा. कोइरालाले समय लिनुभयो । क्याबिनेटमा मन्त्री पठाउँदा पनि कोइरालाले पठाएको नामलाई नै पठाइयो, महामन्त्रीको नामलाई महत्व दिइएन र केन्द्रदेखि प्रदेशसम्म यही अवस्था देखियो । यिनै घटना परिघटनाले दुई नेताबीच संवादहीनताको स्थिति सिर्जना गरेको हो ।
कांग्रेसमा नयाँ ध्रुवीकरणको सम्भावना कति देखिन्छ ?
राजनीतिको मनोगत र वस्तुगत आधार हुन्छ । जनस्तरमा उठेका आवाजका आधारमा कुनै गुट या समूह बन्यो भने त्यो बलियो हुन्छ । तर, यहाँ अधिकांश गुट या समूह वस्तुगत आधारभन्दा पनि मनोगत आधारमा खडा भएका छन् । जनस्तरको आवाजअनुसार गुट बनाउनमा कुनै पनि नेतामा रुचि देखिँदैन । यस्तो अवस्थामा नयाँ धु्रवीकरण हुनु र नहुनुको के नै अर्थ हुन्छ र ?
कांग्रेसमा इतर भनिएको समूहमा फुटको सम्भावना कति देख्नुहुन्छ ?
नेताहरूले मनोगत आकांक्षा छाडेर जनता र आमकार्यकर्ताको मनोभावना र चासो बुझेर जाने हो भने यो समूह फुट्दा पनि फुट्दैन र फुटाउने अधिकार पनि कसैलाई छैन । तर, म नै सबथोक हुँ भन्ने हो भने राजनीतिमा जे पनि हुन सक्छ ।