अर्थतन्त्र चलायमान बनाउन सरकारले निजी क्षेत्रको सुझाव लिने

प्रधानमन्त्रीको कार्यालयमा आज छलफल हुँदै, सरोकारवाला सरकारी प्रतिनिधि र निजी क्षेत्रको सहभागिता रहने

मंगलबार, ५ मंसिर, २०८०
डिजिटल संस्करण

सरकारले अर्थतन्त्र थप चलायमान बनाउन निजी क्षेत्रको सुझाव लिने भएको छ । अर्थतन्त्रका वर्तमान समस्या समाधानका लागि सरोकारवाला सरकारी निकाय र निजी क्षेत्रलाई एक ठाउँमा राखेर छलफल गर्ने भएको हो ।

देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रसँग सुझाव लिने निर्णय गरेको हो । मंगलबार निजी क्षेत्रसँग छलफल गर्ने निर्णय भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

‘समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउन सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग भोलि दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गर्ने निर्णय भएको छ,’ अर्थमन्त्री डा. महतले भने, ‘आन्तरिक संरचनामा के उपलब्धि भयो, वर्तमान समस्या र चुनौती तथा आगामी कार्यदिशा के लिएर अगाडि बढ्दै छौँ भन्ने विषयमा निजी क्षेत्रको पनि सुझाव लिने योजना रहेको छ ।’ 

प्रधानमन्त्रीको कार्यालयबाट निजी क्षेत्रलाई मंगलबारको छलफलका लागि बोलाइएको छ । निजी क्षेत्र र सरकारी निकायका प्रतिनिधिसहितको सर्वपक्षीय छलफलका लागि भन्दै निम्तो आएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

‘राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति, घटनाक्रम तथा नीतिगत कमजोरीका कारण अर्थतन्त्र मन्दीमा गएको छ, अर्थतन्त्रको अहिलेको समस्या कुनै एक व्यक्ति वा संस्थाले मात्रै समाधान गर्न सक्दैन,’ उनले भने, ‘त्यसैले सरकार र निजी क्षेत्र एक ठाउँमा बसेर समस्याको समाधान निकाल्नुपर्छ भनेर महासंघले नै पटक–पटक सुझाव दिँदै आएको थियो, यसर्थ छलफल गर्ने निर्णय स्वागतयोग्य छ ।’ निजी क्षेत्रका तर्फबाट अर्थतन्त्रलाई चलायमान बनाउने सुझाव दिइने उनले बताए । 

बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक र विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री र सचिवलगायतको उपस्थिति थियो । उक्त अवसरमा अर्थमन्त्री महतले देशको अर्थतन्त्रबारे बैठकमा ब्रिफिङ गरेका थिए । त्यसपछि गभर्नर र आयोगका प्रतिनिधिले आफ्ना कुरा राखेका थिए । 

सुझावित समाचार