नेपालमा प्रिमियम मूल्यमा सेयर जारी गरेका कम्पनीले लगानीकर्तामा आस जगाउन सकेका छैनन् । कम्पनीलाई प्रिमियम मूल्यमा सेयर जारी गर्न धितोपत्र बोर्डले धमाधम अनुमति दिँदै गए पनि बजारमा भने उनीहरूको उपस्थिति सन्तोषजनक हुन सकेको छैन ।
हालसम्म नेपाल स्टक एक्सचेन्जमा आठवटा प्रिमियम मूल्यमा आइपिओ जारी भएका कम्पनी सूचीकृत छन् । ती कम्पनीका लगानीकर्ताले सन्तोषजनक नाफा पाउन सकेका छैनन् । तैपनि, नियामक निकाय नेपाल धितोपत्र बोर्डले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न एकपछि अर्को खुकुलो नीति ल्याएपछि प्रिमियम मूल्यमा सेयर जारी गर्न करिब एक दर्जन कम्पनी पाइपलाइनमा छन् ।
करिब ६ वर्षअघि प्रिमियमम मूल्यमा जारी भएको शिवम् सिमेन्टले समेत लगानीकर्तालाई उचित मुनाफा दिन सकेको छैन । त्यस्तै, भर्खरै प्रिमियममा निष्कासन भएका घोराही सिमेन्ट, मान्डु हाइड्रोपावर, सन लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, भगवती हाइड्रोपावर, सोनापुर मिनिरल्स एन्ड आयलको मूल्य पनि घटिरहेको छ ।
कम्पनीले जारी गरेको मूल्यभन्दा बजार तल खसेपछि नियामक निकायमाथि लगानीकर्ताले प्रश्न उठाउन थालेका छन् । नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरी प्रिमियम भन्दैमा लगानी गरिहाल्नुनहुने बताउँछन् । उनले भने, ‘नेपालमा पछिल्लो समय प्रिमियमा मूल्य घटेको विषयमा चर्चा छ, नियामक निकायलाई दोष दिने चलन छ, तर त्यो गलत हो, यसमा लगानीकर्ता नै सबैभन्दा बढी सचेत हुनुपर्छ ।’
पछिल्लो समय बोर्डले मनलाग्दी कम्पनीलाई प्रिमियममा आइपिओ जारी गर्न स्वीकृत दिएको भन्दै आलोचना हुँदै आएको छ । धितोपत्र बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले वित्तीय विवरण सबल भएको र मापदण्ड पु¥याएका कम्पनीले प्रिमियममा आइपिओ जारी गर्न पाउने बताए । धितोपत्र बोर्डले ल्याएको नीति विश्वव्यापी मान्यताअनुसार नै रहेको र प्रिमियममा सेयर अझ सस्तो रहेको उनको भनाइ छ ।
पछिल्लो समय बजार नै घटेको हुँदा सबै कम्पनीको सेयर मूल्य घटेको र प्रिमियमको मात्र घट्यो, लगानी डुब्यो भन्नु उचित नहुने नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले बताए । उनले भने, ‘प्रिमियममा सेयर किन्नेहरूको अपेक्षा धेरै हुनु स्वाभाविक हो, तर अहिले त दुई वर्षदेखि नै बजार निरन्तर ओरालो लागेको छ, दोष दिने ठाउँ छैन ।’ हाल नेप्से परिसूचक घटेर एक हजार आठ सय ४७ दशमलव ७० विन्दुमा आइपुगेको छ ।
शिवम् सिमेन्ट
प्रिमियम मूल्यमा सबैभन्दा धेरै सेयर जारी गर्ने कम्पनी शिवम् सिमेन्ट हो, जसले बोर्डबाट ७ असार ०७३ मा निष्कासनका लागि अनुमति पाएको थियो । प्रिमियममै सेयर जारी गरेको करिब ६ वर्ष बितिसक्दा पनि कम्पनीको सेयर मूल्यमा उत्साहजनक बढेको देखिँदैन । हाल कम्पनीको सेयर मूल्य चार सय ९६ रुपैयाँमा आइपुगेको छ । कम्पनीको सेयर हालसम्मको उच्चतम मूल्य १९ सय ७१ रुपैयाँ प्रतिकित्तासम्म पुगेको छ भने न्यूनतम तीन सय ५१ रुपैयाँ प्रतिकित्तासम्म झरेको छ । पाँच वर्षको अवधिमा कम्पनीले लगानीकर्तालाई बोनस सेयर दिएको छैन । नगद लाभांश मात्र दिँदै आएको छ । आर्थिक वर्ष ०७७/७८ मा सबैभन्दा धेरै २९ प्रतिशत नगद लाभांश दिएको छ । अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कम्पनीले १० दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको छ ।
घोराही सिमेन्ट
पछिल्लो समय प्रिमियम मूल्यमा आइपिओ निष्कासन गरेर चर्चामा आएको घोराही सिमेन्टको सेयर मूल्यमा पनि निरन्तर गिरावट आइरहेको छ । कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य एक सय रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम थपेर प्रतिसेयर चार सय ३५ रुपैयाँमा सेयर निष्कासन गरेको हो । नेप्सेबाट पहिलो कारोबार चार सय ६५ रुपैयाँबाट सुरुवात गरेको हाल घटेर कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ४ सय ६ दशमलव २० पैसामा आइपुगेको छ । लगानीकर्ताले कम्पनीको सेयर किनेको मूल्यभन्दा प्रतिसेयर २९ रुपैयाँले लगानीकर्ता घाटामा छन् । कम्पनीको हालसम्मको उच्चतम मूल्य पाँच सय ८१ रुपैयाँसम्म पुगेको छ भने न्यूनतम मूल्य तीन सय ८१ रुपैयाँसम्म आइपुगेको छ ।
आइएमई लाइफ इन्स्योरेन्स
प्रिमियम मूल्यमा आइपिओ जारीको गरेको आइएमई लाइफ इन्स्यारेन्स कम्पनीको सेयर मूल्य प्रतिसेयर चार सय ६५ दशमलव १० रुपैयाँमा आइपुगेको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यमा एक सय ३६ रुपैयाँ प्रिमियमसहित दुई सय ३६ रुपैयाँमा प्रतिकित्तामा आइपिओ निष्कासन गरेको थियो । समग्रमा हेर्दा कम्पनीको सेयर मूल्य नाफामै भए पनि पछिल्लो समय निरन्तर घटेको छ । कम्पनीको उच्चतम मूल्य ६ सय ४० रुपैयाँ ६० पैसासम्म पुगेको छ भने न्यूनतम चार सय ५० रुपैयाँ १० पैसासम्म पुगेको आइपुगेको छ । कम्पनीले पहिलो कारोबार पाँच सय २९ रुपैयाँ ५० पैसाबाट सुरु गरेको थियो ।
भगवती हाइड्रोपावर कम्पनी
भगवती हाइड्रोपावर कम्पनीले गत ५ भदौमा प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियमसहित एक सय १६ रुपैयाँ प्रतिकित्तामा आइपिओ निष्कासन गरेको हो । नेप्सेबाट तीन सय ६१ रुपैयाँ १० पैसामा पहिलो कारोबार गरेको कम्पनीको सेयर मूल्य बढ्न सकेको छैन । कम्पनीको हालसम्म १५ पटक भएको भएको कारोबारमा नौपटक कम्पनीको सेयर मूल्यमा घटेको छ भने ६ वटा कारोबार बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिसेयर उच्चतम तीन सय ८७ रुपैयाँसम्म पुगेको छ भने न्यूनतम तीन सय ५२ रुपैयाँसम्म आइपुगेको छ । हालसम्मको सेयर मूल्य तीन सय ७८ रुपैयाँ ४० पैसामा आइपुगेको छ ।
रिलायबल लाइफ इन्स्योरेन्स
रिलायबल लाइफ इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यमा एक सय ५७ रुपैयाँ प्रिमियमसहित दुई सय ५७ रुपैयाँमा एक करोड २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । कम्पनीले ३१ भदौबाट पहिलो कारोबारमा गर्दा कम्पनीको मूल्य चार सय ८६ रुपैयाँ प्रतिसेयर मूल्य निर्धारण गरिएको थियो । हाल कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता चार सय १५ मा आइपुगेको छ । कम्पनीको सेयर मूल्य प्रतिसेयर पाँच सय रुपैयाासम्म पुगेको छ भने न्यूनतम तीन सय ९८ रुपैयाँसम्म आइपुगेको छ । पछिल्लो समय बजार घटेसँगै कम्पनीको सेयर मूल्यमा निरन्तर गिरावट आइरहेको छ ।
सोनापुर मिनिरल्स एन्ड आयल
हालै मात्र प्रिमियम मूल्यमै आइपिओ जारी गरेको सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडको सेयर मूल्य पहिलो कारोबारदेखि नै नकारात्मक सर्किट लाग्दै आएको छ । कम्पनीले सर्वसाधारणलाई एक सय रुपैयाँ अंकित मूल्यमा १३७ दशमलज ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता दुई सय ३७ दशमलव ५८ पैसाका दरले आइपिओ बिक्री गरेको थियो । नेप्सेमा सूचीकृत भएर कारोबारको सुरुवाती दिनदेखि नै कम्पनीको सेयर मूल्य लगातार चौथो दिनसम्म घटेको थियो । हाल सेयर दुई सय ५९ रुपैयाँ रहेको छ । पहिलो कारोबार कम्पनीले तीन सय ५० रुपैयाँबाट गरेको थियो । यो नै कम्पनीको उच्चतम कारोबार हो ।
मान्डु हाइड्रोपावर कम्पनी
मान्डु हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डबाट प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यमा प्रिमियम एक सय ६ रुपैयाँ थप गरी प्रतिकित्ता दुई सय ६ रुपैयाँमा १६ लाख ३६ हजार तीन सय ७० कित्ता आइपिओ बिक्रीको अनुमति पाएको थियो । कम्पनीको पहिलो कारोबार तीन सय ७३ रुपैयाँ २० पैसाबाट कारोबार हाल कम्पनीको सेयर मूल्य बढेर चार सय ५२ रुपैयाँ कायम रहेको छ । कम्पनीको उच्चतम सेयर मूल्य चार सय ६० रुपैयाँसम्म पुगेको छ भने न्यूनतम तीन सय ७३ रुपैयाँ रहेको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स
प्रिमियम मूल्यमा आइपिओ जारी गरेको सन नेपाल लाइफ इन्स्योरेन्सको पहिलो कारोबार चार सय ७५ रुपैयाँ २० पैसा रहेको थियो । हाल कम्पनीको सेयर मूल्य घटेर चार सय २६ दशमलव ८० रुपैयाँमा आइपुगेको छ । कम्पनीको २४ पटकको कारोबारमा कम्पनीको सेयर मूल्य ४९ रुपैयाँले घटेको छ । कम्पनीको उच्चतम मूल्य पाँच सय २२ रुपैयाँसम्म पुगेको छ भने न्यूनतम चार सय दुई रुपैयाँसम्म आइपुगेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा प्रिमियम एक सय ३९ रुपैयाँ थप गरी कुल दुई सय ३९ रुपैयाँमा आइपिओ निष्कासन गरेको थियो ।
सिटिजन लाइफ इन्स्योरेन्स
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा एक सय ४४ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता दुई सय ४४ रुपैयाँमा सेयर निष्काशन गरेको हो । कम्पनीको पहिलो कारोबार प्रतिसेयर पाँँच सय आठ रुपैयाँका दरले पाएको थियो । हाल कम्पनीको सेयर मूल्य चार सय ५ दशमलव ६० रुपैयाँमा आइपुगेको छ । कम्पनीको न्यूनतम मूल्य तीन सय ८१ रुपैयाँसम्म झरेको छ भने उच्चतम मूल्य पाँच सय आठ रुपैयाँसम्म पुगेको छ ।
