नेपालको फाइनल पुग्ने सम्भावना समाप्त

शुक्रबार, १ मंसिर, २०८०
डिजिटल संस्करण
नेपालको फाइनल पुग्ने सम्भावना समाप्त

तस्बिर : नेपाल क्रिकेट संघ (क्यान)को ट्विटरबाट

हङकङमा चलिरहेको चार राष्ट्रबीचको टी–२० क्रिकेट सिरिजमा लगातार दुई हारको सामना गरेको नेपाल अंकविहीन

हङकङमा चलिरहेको चार राष्ट्रबीचको टी–२० क्रिकेट प्रतियोगितामा नेपाली महिला टोलीको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ । सिरिजमा लगातार दुई खेलमा हार सामना गरेपछि नेपाल अन्तिम दुईमा पुग्न नसकेको हो । घरेलु टोली हङकङसँग नेपाल नौ विकेटले पराजित भयो । यसअघि पहिलो खेलमा नेपाल तान्जानियासँग स्तब्ध भएको थियो । वाङ नाई मैदानमा बिहीबार नेपालले खराब ब्याटिङ प्रदर्शन गर्दा १८ ओभरमा ५६ रनको झिनो योगफलमा अलआउट भयो । 

प्रत्युत्तरमा हङकङले नौ ओभरमा ६.३३ रनरेटमा ब्याटिङ गरी लक्ष्य पार गर्यो । हङकङले नौ ओभरमा एक विकेट गुमाएर ५७ रन जोडेको थियो । हङकङकी नतासा मिलेसले २३ बलमा ३० रनको नटआउट इनिङ्स खेलिन् । उनले चार चौका प्रहार गरिन् । साजिन साहजादले २७ बलको सामना गरी तीन चौकाको मद्दतमा २० रन जोडिन् । ओपनर मारिको हिल पाँच रनमा रनआउट भइन् । हङकङले १.१ ओभरमा पहिलो विकेट गुमाएको थियो । कप्तान इन्दु बर्माको सीधा थ्रोमा हिल रनआउट भएकी हुन् । 

नेपालको बलिङमा पूर्वकप्तान रुविना क्षेत्रीले एक ओभरमा १० रन दिइन् । संगिता राईले तीन ओभरमा १६ रन दिइन् । कप्तान इन्दुले दुई ओभरमा १० रन दिइन् । नेपालको बलिङ आक्रमणमा पाँच बलरले बलिङ गरेका थिए । पूजा महतोले इनिङ्समा एक वाइड फ्याँकिन् । 

हङकङको कसिलो बलिङ 
उपाधि दाबेदारका रूपमा हेरिएको हङकङले बलिङ उत्कृष्ट गर्यो । इक्वारा साहरले कसिलो बलिङ प्रदर्शन गरेकी थिइन् । उनले चार ओभरमा एक मेडन राखी केवल ६ रन खर्चेर सर्वाधिक तीन विकेट लिइन् । उनले आफ्नो बलिङ स्पेलमा दुई वाइड फ्याँकेकी थिइन् । यसैगरी भेनकेतेस्वरले तीन ओभरमा नौ रन खर्चेर दुई विकेट लिइन् । वेटी चाङ, हिल र कायल चानले समान एक विकेट लिएका थिए । हिलले तीन ओभरमा १४ रन खर्चेकी थिइन् । हङकङका सिमर र स्पिनरले कसिलो बलिङ प्रदर्शन गरेका कारण नै नेपाली ब्याट्सम्यानले सोचेजस्तो रन बनाउन सकेनन् । 

१० ब्याट्सम्यान दोहोरो रन बनाउन चुके
खराब ब्याटिङ प्रदर्शन गरेको नेपालका लागि पूर्वकप्तान रुविना क्षेत्रीबाहेक अन्य कुनै पनि खेलाडी क्रिजमा लामो समयसम्म टिक्न सकेनन् । रुविनाले सर्वाधिक २५ रनको योगदान दिइन् । उनले ३० बलमा चार चौका प्रहार गरिन् । काजल श्रेष्ठ र कप्तान इन्दु सामना गरेको पहिलो बलमै आउट भए । यसैगरी, अस्मिना कर्माचार्य पनि शून्यमै पेभेलियन फर्किइन् । सम्झना खड्का, बिन्दु रावल र कञ्चन श्रेष्ठले एक रन मात्र बनाए । सो इनिङ्समा पूजा महतो र सीता रानामगरको ओपनिङ जोडीले पहिलो विकेटका लागि चार रनको साझेदारी गरेका थिए । नेपालले पहिलो पाँच विकेट १८ रनभित्र गुमाएको थियो । नेपालले ४८ रनको योगफलमा दुई खेलाडी गुमायो । नेपालले पाँच रनको योगफलमा तीन विकेट गुमाएको थियो । 

सहरको ह्याटिक
हङकङकी सहरले आफ्नो दोस्रो ओभरमै ह्याट्रिक लिइन् । उनले इनिङ्सको २.३ ओभरमा सम्झना खड्कालाई क्याच आउट गराइन् । २.४ ओभरमा अनुभवी ब्याट्सम्यान काजोल श्रेष्ठलाई क्याच आउट नै गरिन् । ह्याट्रिक बल सामना गर्न नेपालकी कप्तान इन्दु आएकी थिइन् । सहरको सीधा आएको बललाई कट गर्ने प्रयासमा उनी बोल्ड आउट भइन् । सहरको ह्याट्रिक ओभरसँग हङकङले नेपालमाथि दबाब बनायो । जुन अन्तिमसम्म कायम नै रह्यो । 

सुझावित समाचार