एक महिनाभित्रमा बचत फिर्ता गर्ने योजना पेस गर्न सहकारी विभागको निर्देशन

आइतबार, २६ कार्तिक, २०८०
डिजिटल संस्करण

पछिल्लो समय एकपछि अर्को सहकारी संस्थाहरू जोखिममा पर्न थालेपछि सहकारी विभागले चारबुँदे निर्देशन जारी गरेको छ । सहकारी क्षेत्रमा देखा परेको समस्या समाधान गर्न गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० को सुझाव विभागले आफ्नोे क्षेत्राधिकारभित्र पर्ने संस्थालाई निर्देशन जारी गरेको हो । 

विभागले शुक्रबार निर्देशन जारी गर्दै सहकारी संस्थाहरूलाई एक महिनाभित्र बचतकर्ताको बचत फिर्ता गर्ने कार्ययोजना पेस गर्न भनेको छ । समस्यामा परेका संस्थामा बचतकर्ताले माग गरेको रकम फिर्ता गर्ने कार्य योजना मंसिरभित्रमा विभागमा पेस गर्न निर्देशन दिएको हो । सरकारले हालसम्म १३ वटा सहकारीलाई समस्याग्रस्त संस्था घोषणा गरेको छ भने करिब पाँच सय सहकारी संकटमा परेको विभागको अनुमान छ ।

सहकारी संस्थाले बचत रकम नै फिर्ता गर्न छाडेपछि बचतकर्ताले सरकार गुहार्न थालेका छन् । यसै समस्यालाई सम्बोधन गर्न सरकारले गत वैशाखमा राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा सहकारी क्षेत्र सुधार सुझाव कार्यदल २०८० गठन गरेको थियो । 

कार्यदलले यसअघि भएका अध्ययन प्रतिवेदनको विश्लेषण, सहकारी अभियानकर्मी, पीडित बचतकर्ता, विज्ञलगायतका व्यक्तिसँगको छलफलपछि प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रतिवेदनमा सहकारी क्षेत्रको सुधारका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले गर्नुपर्ने काम र जिम्मेवारीहरू उल्लेख छ । त्यसैगरी, कार्यदलले सरकारले छोटो अवधि र दीर्घकालीन अवधिमा गर्नुपर्ने सुधारका कार्यसहित प्रतिवेदन पेस गरेको छ । सोहीबमोजिम सहकारी विभागले निर्देशन जारी गरेको विभागका रजिस्ट्रार टोलराज उपाध्ययले बताए । संकटमा परेको सहकारीमा १० अर्बभन्दा बढी बचतकर्ताको रकम डुबेको विभागका अनुमान छ । 

सहकारी संस्थाले मंसिरभित्र श्वेतपत्र जारी गर्नुपर्ने
सहकारी विभागले सहकारी संस्थाहरूलाई आगामी मंसिरभित्रमा श्वेतपत्र जारी गर्न निर्देशन दिएको छ । विभागले संकटमा परेको सहकारी संस्थालाई श्वेतपत्र पेस गर्न निर्देशन दिएको हो । सहकारी संस्थाले बचत दायित्व, लगानी तथा सम्पत्तिलगायतका वित्तीय विवरण समेटिएको श्वेतपत्र जारी गरी विभागमा पेस गर्नुपर्नेछ । 

विभागका अनुसार संकटमा परेका सहकारीमध्ये सबै सहकारी खराब छैनन् । केही सहकारीहरू अहिलेको आर्थिक मन्दीले पनि प्रभावित भएका छन् । त्यसैले विभागले सहकारीको समस्या पहिचान गरी समाधानको उपाय अपनाउने भएको छ । संस्थाले लगानी गरेको क्षेत्र स्पष्ट भएको र कर्जा उठ्न सक्ने सहकारीलाई विभागले सच्चिने वातावरण बनाउने बताएको छ । तर, लगानी भएको क्षेत्र पनि पहिचान नभएको सञ्चालकहरू पनि सम्पर्कमा नभएका सहकारीलाई भने   सिआइबीलाई जिम्मा लगाउने भएको छ ।  

यसका साथै सबै सहकारी संघ–संस्थाका सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरू र व्यवस्थापकको सम्पत्ति विवरण संकलन गरी त्यसलाई पुष्टि गर्ने कागजातसहित ०८० साल मंसिर मसान्तभित्र विभागमा पेस गर्न पनि विभागले निर्देशन दिएको छ । 

संकटमा परेका संस्थामा सञ्चालक समिति र व्यवस्थापकले गरेको चरम लापरबाही देखिएको छ । सञ्चालक र व्यवस्थापकले आफूखुसी कर्जा लिएर भुक्तानी नगर्ने, बचतकर्ता रकम अपचलन गर्नेजस्ता गतिविधि देखिएका छन् । यस्तो प्रवृत्तिलाई कडाइ गर्न विभागले यस्तो निर्देशन दिएको हो ।   

सुझावित समाचार