भूकम्पबाट गर्भवती र सुत्केरी महिला प्रभावित

शनिबार, २५ कार्तिक, २०८०
डिजिटल संस्करण

जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पले गर्भवती तथा सुत्केरी महिला जोखिममा परेका छन्। भूकम्पका कारणले घर भत्काउँदा तथा अन्य कारणले गर्भवती तथा सुत्केरी महिला जोखिममा परेका हुन्।

जाजरकोट र रुकुमपश्चिममा धेरैजसो गर्भवती तथा सुत्केरी महिला जोखिममा परेकाले सहजीकरणमा अहिले काम भइरहेको कर्णाली प्रदेश सामाजिक मन्त्रालयले जनाएको छ।

जाजरकोट जिल्लाका स्तनपान गराइरहेका आमाहरू ६२ जना र सुत्केरी आमाहरू ५५ जना, अपांगता भएका व्यक्ति र बालबालिका १९ जना र वयस्क २८ जना प्रभावित भएका कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डा. भोजराज शर्मा काफ्लेले बताए। ‘रुकुम पश्चिम जिल्लामा स्तनपान गराइरहेका आमाहरू २९० जना, गर्भवती १५१ जना प्रभावित भएका छन्।’ 

दुवै अभिभावक गुमाएका बालबालिकाहरू जाजरकोटमा ७ जना र आमा वा बाबुमध्ये १ जना गुमाएका रुकुुम पश्चिमको आठबिसकोट नगरपालिकमा १७ जना रहेका सचिव काफ्ले जानकारी दिए। ‘बालबालिका, महिला, गर्भवती, सुत्केरी आमा, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरू थप जोखिमका रहेका छन्,’ उनले भने, ‘जोखिममा रहेका बालबालिका, महिला तथा सुत्केरीहरूलाई विशिष्टीकृत सेवा आवश्यक रहेको छ।’ 

भूकम्पमा परेर ४६ जना बालक, ३७ जना बालिका, ४६ जना महिला र अपांगता भएका १ जनाको मृत्युु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अहिले चिसो बढ्दै गएका कारणले निमोनिया, रुघाखोकीको प्रकोपको थप जोखिम रहेकाले न्यानो कपडा वितरण गर्नुपर्ने, यौन शोषण, दुर्व्यववहार तथा लाञ्छना, बाल श्रम, मानव बेचविखन तथा ओसारपसार, लैगिंक हिंसा, छुवाछुत तथा विभेद हुन सक्ने भएकाले अहिले ती क्षेत्रमा काम भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भूकम्पपछि विभिन्न प्रकारका मनोसामाजिक समस्याहरु एक्लै बस्ने, टोलाउने, बरबराउने, डराउने, मुर्छा पर्ने, अत्तालिने आदि जोखिम देखिन थालेको र मनोसामाजिक परामर्श सेवा प्रवाहका लागि ती क्षेत्रमा परामर्शकर्ता परिचालन गरिएको सचिव काफ्ले जानकारी दिए ।

जाजरकोटको बारेकोट गाउँपालिकामा २ जना, कुशे गाउँपालिका २ जना, भेरी नगरपालिकामा ६ जना, नलगाड नगरपालिकामा ९ जना र जिल्लाभर २ जना गरी २१ जना मनोविमर्शकता खटिएका मन्त्रालयले जनाएको छ  ।

मन्त्रालयका अनुसार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ६ जना, सानोभेरी नगरपालिकामा १ जना, चौरजहारी नगरपालिकामा ३ जना र मुसीकोट नगरपालिकामा १ जना गरि जम्मा १३ जना मनोविमर्शकता खटिएका छन्।

सुझावित समाचार