प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकार तथा पार्टीमार्फत गणतन्त्र र संघीयताजस्ता उपलब्धिको रक्षाका लागि नयाँ अभियान थालेको बताएका छन्।
नेकपा (माओवादी केन्द्र)ले आज कीर्तिपुरमा आयोजित ‘कीर्तिपुरका जनता’ विषयक साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री दाहालले विगतबाट शिक्षा लिँदै जनतामा आशा जगाउने कार्य गर्न थालेको बताए। ‘विगतमा निष्ठाबाट विचलित हुँदा र पार्टी विभाजन हुँदा फेरि प्रतिक्रान्तिले टाउको उठाउने र अहिलेको परिवर्तनलाई उल्ट्याउने सपना देख्न थाले। त्यसपछि नयाँ ढंगले जानुपर्ने भएकाले पार्टीले देशभर अभियान सञ्चालन गरेको हो,’ उनले भने।
यस क्रममा आफू तेस्रोपटक प्रधानमन्त्री भएपछि देशको अवस्थामा देखिने गरी परिवर्तन गर्न विशेष रूपले लागि परेको प्रधानमन्त्री दाहालले बताए।
सरकारले वैदेशिक रोजगारीमा गएका करिब चार लाख श्रमिक र अनौपचारिक क्षेत्रमा रहेका हजारौँ श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्ने कार्य गरेको प्रधानमन्त्री दाहालले बताए। यसैगरी सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, भूमाफियालाई असफल पार्ने कार्य तथा तस्करीको जालो हटाउने कार्यको सुरुवातबाट ‘अब चाहिँ केही हुन्छ’ भन्ने कुराको अनुभूति जनतालाई दिने कार्य गरेको उनले उल्लेख गरे।
संयुक्त राष्टसंघका महासचिवबाट हालै भएको नेपाल भ्रमणको प्रसंग निकाल्दै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय मञ्चहरूमा मौसम परिवर्तनप्रति विश्वकै ध्यानाकृष्ट गरेपछि उक्त भ्रमण सफल भएको बताए। मौसम परिवर्तनको सन्दर्भमा नेपालको हक स्थापित गर्न सरकार सफल भएको उनको भनाइ थियो। सरकारको मेहेनतको फलस्वरूप मुलुकको आर्थिक अवस्था क्रमशः सुधार हुँदै गएको प्रधानमन्त्री दाहालले उल्लेख गरे।
‘श्रीलंकाकै स्थितिमा मुलुक पुग्छ कि भन्ने त्रासबाट अर्थतन्त्रलाई उद्धार गरेका छौँ,’ उनले भने। पछिल्लो समय विगत सय वर्षको विद्युत् उत्पादनभन्दा बढी हुने गरी १० हजार एक सय मेगावाटको कर्णाली–चिसापानी परियोजना अघि बढाउने तथा मूलपानी, भरतपुर र विराटनगरका क्रिकेट रंगशाला निर्माण अघि बढाउने र निजगढको विमानस्थल तथा द्रुतमार्गका काम अघि बढाउने पनि सरकारले निर्णय गरेको उनले बताए।
कीर्तिपुरवासीको जिज्ञासा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले पहिलोपटक २०६४ मा कीर्तिपुरबाट जितेर प्रधानमन्त्री भएका वेला गर्न नसकिएका कतिपय काम यसपटक गर्नका लागि पहल गरिरहेको बताए। कीर्तिपुरका स्ववासी जग्गा दर्ता, लायकु दरबार पुनर्निर्माण, सार्वजनिक जग्गा संरक्षणलगायत कार्य गर्न विशेष पहल गरिने उनले बताए।