मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट ६४ लाख ७६ हजार ९६० रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष ०८०/८१ अन्तर्गत पहिलोपटक बुधबार सम्पन्न भएको दानपेटिका गणनाबाट सो परिमाणको रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।
सोमबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईको नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाको उपस्थितिमा दानपेटिका खोलिएको थियो ।
सोमबार २३ लाख ६६ हजार ४२२, मंगलबार २१ लाख ४९ हजार ५३८ र बुधबार १९ लाख ६१ हजार रुपैयाँ गणना भएको कोषका कोषाध्यक्ष भट्टराईले जानकारी दिए ।
मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको दानको आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको उनले बताए । दानपेटिकामा संकलित दान पारदर्शी बनाउने गरी गणनाको व्यवस्था मिलाइएको छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् ।