चिनियाँ नेता उच्चस्तरीय भेटवार्तामा : भूकम्पपीडितलाई तिब्बत सरकारको पाँच करोड सहयोग घोषणा

शुक्रबार, २४ कार्तिक, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा भएका सहमति शीघ्र कार्यान्वयनमा लगिने, ल्हासाबाट चाँडै नेपाल उडान 

चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ छुङछेङले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका लागि पाँच करोड नेपाली रुपैयाँ अनुदान दिने घोषणा गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटका क्रममा उनले पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ल्हासाबाट काठमाडौं र पोखरामा हवाई उडान पनि शीघ्र सुरु गर्ने जानकारी वाङले दिएका छन् । 

बुधबार १२ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल आएका वाङले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संघीय मामिलामन्त्री अनिता देवीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । तिब्बतका कार्यकारी प्रमुखसमेत रहेका वाङले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा भएका तिब्बतसँग सम्बन्धित सहमति/समझदारी शीघ्र कार्यान्वयनका लागि तिब्बत सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

‘प्रधानमन्त्रीको चीन भ्रमणमा भएका सहमति, समझदारी र सम्झौताहरूलाई चाँडो कार्यान्वयन गर्ने विषयमा छलफल भयो,’ भेटवार्तापछि प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रूपक सापकोटाले भने । उनका अनुसार चिनियाँ नेता वाङले कतिपय सम्झौताको कार्यान्वयनका लागि आफूले सहजीकरण गर्ने पनि वचन दिएका छन् । 

‘राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा भएका सहमति, सम्झौता र समझदारीहरू कार्यान्वयनका लागि हामी गम्भीर छौँ । चाँडो कार्यान्वयनका लागि सहजीकरण र पहलकदमी लिन हामी तयार छौँ । त्यही सन्दर्भमा हामी नेपाल आएका हौँ,’ सेक्रेटरी वाङले प्रधानमन्त्री प्रचण्डसहित सबै शीर्ष नेतालाई भने । प्रधानमन्त्री प्रचण्डले यो भ्रमणपछि विगतमा कोरोना महामारीका कारण रोकिएका दुई देशबीचका परियोजनाहरू सुचारु हुने विश्वास व्यक्त गरेका थिए । छलफलमा प्रधानमन्त्री प्रचण्ड र वाङबीच १० असोजमा ल्हासामा भएको भेटवार्ताको पनि स्मरण गरिएको थियो । 

वाङले जाजरकोट र रुकुमका लागि राहत र पुनर्स्थापनाका लागि तत्कालै पाँच करोड रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् । यसअघि चीनको केन्द्र सरकार र विभिन्न प्रान्तीय सरकारले सहयोग घोषणा गरिसकेका छन् भने राहत लिएर चिनियाँ जहाज र ट्रक नेपाल आइसकेका छन् । 

वाङले तिब्बतको ल्हासा विमानस्थल पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै सम्पन्न भएपछि काठमाडौं उडान सुरु गर्ने तथा पोखरा र भैरहवामा पनि उडान गर्ने बताएका छन् । चीन सरकारले नेपालका सीमावर्ती १५ जिल्लामा जीविकोपार्जन (शिक्षा, स्वास्थ्य, पूर्वाधार) कार्यक्रमअन्तर्गत सन् २०२४ देखि आगामी पाँच वर्षका लागि दुई करोड चिनियाँ मुद्राबराबरको सहयोग गर्ने पनि वाङले बताए । नेपालको संघीय मामिला मन्त्रालय र चीन सरकारबीच यससम्बन्धी समझदारीमा बिहीबारै हस्ताक्षर भएको छ । 

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार सापकोटाका अनुसार १३ डिसेम्बर (मंसिर २७)मा मुस्ताङको कोरला नाका खुला गर्न लागेको चिनियाँ नेता वाङले जानकारी दिएका छन् । यो नाका पहिलोपटक खुल्न लागेको हो । चीन पक्षले यसका लागि पूर्वाधार निर्माण गरिसकेको छ ।  वाङले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका वेला भएका सहमतिअनुसार नेपाल र तिब्बतबीचका १४ वटा नाका (तीन अन्तर्राष्ट्रिय र बाँकी द्विपक्षीय तथा परम्परागत) क्रमैसँग खोल्न चीन तयार रहेको बताएका छन् ।  कोरोना महामारीका कारण अवरुद्ध भएको दुई देशबीचको सम्झौता कार्यान्वयन प्रक्रियाको अब बाटो खुलेको दुवै पक्षको बुझाइ छ । अब तत्कालै अरनिको राजमार्ग विस्तारको चौथो चरण र स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग विस्तारको कार्य सुरु हुने पनि चिनियाँ पक्षले जानकारी दिएको छ ।

पाँचदिने औपचारिक भ्रमणमा वाङ बुधबार काठमाडौं आएका थिए । उनले जाजरकोट र रुकुममा हालै आएको भूकम्पबाट जनधनको क्षतिप्रति सबै भेटहरूमा दुःख व्यक्त गर्दै क्षमताले भ्याएसम्म सघाउने आश्वासन दिएका छन् । नेता वाङ शुक्रबार पोखरा जाने कार्यक्रम छ । पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसँग उनको भेटवार्ता हुनेछ । पोखरामा रहँदा उनले चीन–नेपाल सांस्कृतिक आदान–प्रदानसम्बन्धी परियोजनाको निरीक्षण गर्ने कार्यक्रम छ । उनी शनिबार काठमाडौं फर्किएपछि  उप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । वाङ आइतबार भक्तपुरमा चिनियाँ सहयोगमा भूकम्पपछि निर्मित संरचनाको अनुगमन गरेर सोही दिन श्रीलंकाको राजधानी कोलम्बो जाने कार्यक्रम छ । 

See More On

सुझावित समाचार