राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ जुनझेङले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित कार्यकक्षमा बिहीबार दिउँसो भएको करिब एक घण्टाभन्दा लामो भेटमा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र हितका विषयमा कुराकानी भएको हो।
अध्यक्ष तिमिल्सिनाले भेटमा नेपाल र चीन घनिष्ठ सम्बन्ध रहेका देश बताउँदै चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्त्व दिएको कुरामा जोड दिए। उनले नेपाल एक चीन नीतिप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको प्रस्ट पारे।
‘हाम्रो प्रतिबद्धता बलियो, स्पष्ट, सीधा र अटल छ। यस प्रतिबद्धताले समयको परीक्षाको सामना गरिसकेको छ। एक चीन नीतिमा नेपालको आधारभूत अडानलाई आन्तरिक र बाह्य परिस्थितिको बदलावले प्रभाव पार्दैन,’ उनले भने, ‘हाम्रो भूमिमा चीनको हितविरुद्ध कुनै पनि गतिविधि हुन नदिने हाम्रो प्रतिबद्धता फेरि पनि दोहोर्याउन चाहन्छौँ।’
यसै वर्षको जुन महिनामा अध्यक्ष तिमिल्सिनाले चीनको औपचारिक भ्रमणको क्रममा राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजी र चिनियाँ राजनीतिक परामर्श दातृ सम्मेलनका अध्यक्ष वाङ हु निङसँग भएको भेटको स्मरण पनि गरे। उनले सचिव वाङसँग पनि शिष्टाचार भेटघाट गरेका थिए।
अध्यक्ष तिमिल्सिनाले आफ्नो भ्रमणका क्रममा सीमा नाका सञ्चालन गर्न र नेपालमा उत्पादित घाँस तिब्बत निकासीका लागि गरिएको आग्रह तत्काल कार्यान्वयन भएकोमा धन्यवाद दिँदै सुन्तलाको निकासी गर्ने वातावरण बनाउन तथा पोखरा विमानस्थलमा तिब्बतको राजधानी ल्हासा र सांघाइबाट सीधा उडान गर्न आग्रह पनि गरे।
हालै जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पबाट प्रभावितका लागि चीनले पुर्याएको सहयोगका लागि उनले धन्यवादसमेत दिए।
सो अवसरमा सचिव जुनझेङले नेपाल र चीनका बीचमा रहेको मित्रतापूर्ण सम्बन्ध र सहकार्यको चर्चा गर्दै जाजरकोट भूकम्पपछि पुनर्निर्माणको काममा चीनले सहयोग पुर्याउने प्रतिबद्धता जनाए। नेपालमा भूकम्प जाँदा त्यस्तै भौगोलिक अवस्थिति भएको तिब्बत पनि प्रभावित हुने बताउँदै उनले नेपालको भूकम्पको कम्पनले तिब्बतीको मन पनि दुख्ने र उस्तै पीडाको महसुस गर्दै आएका बताए।
तिब्बत सरकारले पनि पुनर्निर्माण र राहतमा सहयोग पुर्याउने उनको प्रतिबद्धता छ। उनले ल्हासा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सकिएकाले छिट्टै ल्हासा–काठमाडाैं उडान सञ्चालन हुने जानकारी दिए।