चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सेक्रेटरी काठमाडौंमा, भूकम्पपछि पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

बिहिबार, २३ कार्तिक, २०८०
डिजिटल संस्करण
चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सेक्रेटरी काठमाडौंमा, भूकम्पपछि पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

उपराष्ट्रपति रामसहाय यादवसँग शिष्टाचार भेट गर्दै वाङ

पाँचदिने औपचारिक भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले भूकम्पपछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बुधबार काठमाडौं आएलगत्तै उपराष्ट्रपति रामसहाय यादवसँगको शिष्टाचार भेटमा वाङले भूकम्पपछिको पुनर्निर्माणबारे चिनियाँ धारणा व्यक्त गरेका हुन् । १२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गरेकी थिइन् । 

भेटमा उपराष्ट्रपति यादवले जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा राहत सामग्री र सहानुभूतिका लागि चीन सरकारलाई धन्यवाद दिएका छन् । तिब्बत स्वशासित क्षेत्र दुई देशबीचको व्यापार, पर्यटन, संस्कृति र अन्य हितका क्षेत्रहरूमा द्विपक्षीय अन्तत्र्रिmयाको प्रवेशद्वार भएको उपराष्ट्रपति यादवको भनाइ थियो । वाङको भ्रमणले सम्भावित सबै क्षेत्रमा नेपाल–चीन सम्बन्ध थप प्रगाढ हुने उनको विश्वास थियो ।

तिब्बत सेक्रेटरी वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको असोजमा भएको चीन भ्रमण तथा चार वर्षअघि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा भएका समझदारी कार्यान्वयन गर्न तिब्बत सरकार तयार रहेको बताएका थिए । ‘प्रधानमन्त्रीको भ्रमणमा भएका समझदारी लागू गर्ने उद्देश्यले म र प्रतिनिधिमण्डल नेपाल आएका छौँ,’ वाङलाई उद्धृत गर्दै उपराष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार विनोद पौडेलले भने । 

वाङले २७ कात्तिकबाट मुस्ताङ र तिब्बतको ढोङ्बा काउन्टी जोड्ने कोरला नाका खुल्न लागेको पनि जानकारी दिएका थिए । ‘कोरोनापछि बन्द भएका र परम्परागत नाकाहरू हामी क्रमशः खोल्दै जानेछौँ,’ वाङको भनाइ थियो । उपराष्ट्रपति यादवले ०२६ बाट नेपाल अल्पविकसित अवस्थाबाथट विकासशील मुलुकमा स्तरोन्नति हुने आकांक्षामा सहयोग गर्न आग्रह गरेका थिए । ‘तीव्र आर्थिक–सामाजिक रूपान्तरणको चिनियाँ अनुभवबाट हामी सिक्न चाहन्छौँ,’ उपराष्ट्रपति यादवले भने । 

यादवले कनेक्टिभिटी, पूर्वाधार विकास, व्यापार, पर्यटन, लगानी र जनस्तरको सम्बन्धजस्ता महŒवपूर्ण क्षेत्रमा चीनसँगको साझेदारीलाई नेपालले प्रगाढ बनाउन चाहेको पनि उल्लेख गरे । उपराष्ट्रपति यादवले चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधनप्रति समवेदना व्यक्त गरे । तिब्बतका सेक्रेटरी वाङले उपराष्ट्रपति यादवलाई तिब्बत भ्रमणका लागि आग्रह पनि गरेको सल्लाहकार पौडेलले बताए । 

प्रधानमन्त्री र राष्ट्रिय सभाका अध्यक्षसँग आज भेटवार्ता 
तिब्बत सरकारका कार्यकारी प्रमुख रहेका चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सेक्रेटरी वाङले बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले बिहीबार बिहान ११ बजे संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीसँग र अपराह्न ४ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि भेटवार्ता गर्दै छन् । 
 

See More On

सुझावित समाचार