प्रमुख विपक्षी दल नेकपा एमालले भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुममा पीडितहरूको पुनर्स्थापनाका लागि एक हजार स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ।
१ मंसिरबाट पार्टीको कर्णाली प्रदेश कमिटीको अगुवाइमा १ हजार स्वयंसेवक पुनर्स्थापनाको काममा परिचालित हुने गरी सचिवालय बैठकले निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
जसअनुसार उनीहरूले ५ हजार कार्यदिनभन्दा बढी त्यहाँ घरटहरा निर्माणमा काम गर्ने, १ करोड बढी मूल्यको श्रम गर्ने पनि ज्ञवालीले जानकारी दिए। ‘०७२ को भूकम्पपछि जस्तै हाम्रा हजार स्वयंसेवकहरूले हजारौँ टहरा बनाएर पीडितहरूलाई न्यानो घरमा बसाएर मात्र फर्किनेछन्,’ ज्ञवालीले भने।
बुधबार बसेको सचिवालय बैठकले पीडितहरूको राहत वितरणमा राजनीतीकरण नगरी पारदर्शी र प्रभावकारी बनाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।