जी- ७ बैठकमा गाजाका विषयमा साझा धारणाको खोजी

बुधबार, २२ कार्तिक, २०८०
डिजिटल संस्करण

जी– ७ का विदेशमन्त्रीहरूले इजराइल–हमास युद्धमा साझा सहमति बनाउन माग गरेका छन्। उनीहरूले रुससँगको युद्धमा युक्रेनका लागि आफूहरूको समर्थनमा कुनै कमी नहुने वाचा गरेका हुन्।  
    
मन्त्रीहरूले टोक्योमा संयुक्त विज्ञप्ति जारी गरेर गाजामा ‘मानवीय विराम’को आह्वान गर्ने, तर युद्धविरामको आग्रह नगर्ने अपेक्षा गरिएको थियो।  

आफ्नो पछिल्लो मध्यपूर्वको भ्रमणबाट बैठकमा पुगेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले मंगलबार जी– ७ सँग गाजा संघर्षबारे ‘एउटै स्पष्ट आवाज’मा बोल्न आग्रह गरेका थिए। 

जापानी विदेशमन्त्री योको कामिवाकाले मंगलबार राति पर्याप्त र निरन्तर मानवीय सहायताको पूर्वसर्तका रूपमा जी– ७ का विदेशमन्त्रीहरूलाई सम्बन्धित मुलुकहरूबाट मानवीय विराम गर्न र मानवीय पहुँच सुनिश्चित गर्नका लागि आह्वान गर्नुपर्ने आवश्यकता रहेको बताए। 

एक कूटनीतिक स्रोतले गाजामा मानवीय आपतकाललाई ध्यानमा राख्दै प्यालेस्टिनी नागरिकका लागि मानवीय हेरचाह तुरुन्तै विस्तार गर्न आवश्यक छ भन्ने विषयमा मन्त्रीहरूबीच व्यापक एकता थियो भनेको छ।

स्रोतका अनुसार छलफलमा मानवीय विरामका बारेमा ‘रचनात्मक आदान–प्रदान’ भएको थियो भने गाजाको भविष्य र संघर्षलाई बढ्नबाट कसरी रोक्ने भन्नेबारे जी–७ र यस क्षेत्रका अन्य मुलुकहरूबीच छलफलको आवश्यकता महसुस गरिएको थियो। 

युक्रेन युद्धमा जी– ७ किएभलाई ‘बलियो समर्थन’ जारी राख्ने र रुसमाथि ‘गम्भीर प्रतिबन्ध’ लगाउने आफ्नो संकल्पमा ‘एकताबद्ध’ रहेको जापानले बैठकपछि बुधबार बताएको छ। 

See More On

सुझावित समाचार