कात्तिक २३ गतेदेखि काठमाडौं महानगरपालिकाको सडकमा भेटिएका गाई र बाच्छालाई दक्षिणकाली नगरपालिकाकाे काञ्जीहाउसमा लगेर व्यवस्थापन गरिने
काठमाडौं महानगरपालिकाको सडकमा भेटिएका गाई र बाच्छालाई दक्षिणकालीको काञ्जीहाउस (गाई–बाच्छा राख्ने पूर्वाधार)मा व्यवस्थापन गरिने भएको छ । मेयर बालेन्द्र साह (बालेन)ले कात्तिक २३ गतेदेखि काठमाडौं महानगरपालिकाको सडकमा भेटिएका गाई र बाच्छालाई दक्षिणकाली नगरपालिकामा लगेर व्यवस्थापन गरिने बताएका छन् ।
‘हामी काठमाडौं महानगरपालिकाले कात्तिक २३ गतेदेखि सडकमा भेटिएका गाई र बाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका– ७ को पुगाउँमा रहेको काञ्जीहाउसमा राख्ने भएको छौँ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् । तिर्खा लागेका वेला पानी पाउँदैनन् । बिरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ । उनीहरूलाई यी जोखिमबाट बचाउन काञ्जीहाउसमा लैजान लागेका हौँ ।’
काञ्जीहाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकिएकाे छ । चाैपायाकाे हेरचाह गर्नका लागि दुईजना स्थानीयलाई दैनिक ज्यालादारीमा राेजगारीकाे व्यवस्था मिलाइएकाे छ । दक्षिणकाली नगरपालिकाको वडा नम्बर ७ को सहकार्यमा पानी, बिजुलीलगायत सुविधाकाे प्रबन्ध गरिने मेयर बालेन्द्र साहले बताएका छन् ।