सेमिफाइनलमा त्रिभुवन आर्मी

बुधबार, २२ कार्तिक, २०८०
डिजिटल संस्करण

त्रिभुवन आर्मी क्लब प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको मंगलबार सम्पन्न अन्तिम क्वार्टरफाइनलमा आर्मीले झापा एफसीलाई २–० ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो । आर्मीले दुवै हाफमा समान एक गोल गरेको थियो । आदर्शनगर खेलमैदानमा आर्मीले झापामाथि सुरुदेखि नै दबाब राखेको थियो । खेलको सातौँ मिनेटमा नीरजकुमार साहले आर्मीलाई १–० को अग्रता दिलाए । 

एक गोलले पछाडि परेको झापाले बराबरी गोल फर्काउने प्रयास गरेको थियो । तर, झापाका खेलाडीले उत्कृष्ट फिनिसिङ गर्न सकेनन् । खेलको ६१औँ मिनेटमा फतेमान घलेले आर्मीलाई २–० को अग्रता दिलाए । खेलमा आर्मीका फतेमान घले म्यान अफ दी म्याच हुँदै १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा बुधबार पहिलो सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । 

मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशिको प्रतियोगिताका विजेताले ११ लाख ११ हजार र उपविजेताले पाँच लाख ५५ हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलका म्यान अफ दी म्याच खेलाडीलाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ । विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही २० हजार र प्रतियोगिताकै सर्वोत्कृट खेलाडीलाई ५० हजार नगदसहितको पुरस्कार प्रदान गरिनेछ । 

सुझावित समाचार