‘बाक्सिला रनिङ गोल्डकप’को १२औँ संस्करण फागुनमा

मंगलबार, २१ कार्तिक, २०८०
डिजिटल संस्करण

खोटाङको प्रतिष्ठित तथा सबैभन्दा ठूलो धनराशिको ‘बाक्सिला रनिङ गोल्डकप’को १२औँ संस्करण आगामी फागुनमा हुने भएको छ। आयोजक बाक्सिला फुटबल क्लबको सोमबार बसेको कार्यसमिति बैठकले आगामी फागुन २ देखि १२औँ संस्करणको फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो।

मोफसलमा फुटबलको व्यावसायिक विकासका लागि विगत १९ वर्षअघि सुरु गरिएको बाक्सिला गोल्डकपको १२औँ संस्करण केपिलासगढी गाउँपालिका– ४ बाक्सिला बजारस्थित पृथ्वी माविको खेलमैदानमा सञ्चालन गरिने क्लबका अध्यक्ष शिवकुमार राईले जानकारी दिए। ‘पुरस्कार राशि र खेलतालिकालगायतका बारेमा पत्रकार सम्मेलन गरेर जानकारी दिन्छौँ,’ उनले भने।

प्रतियोगितामा जिल्ला फुटबल संघमा आबद्ध चल्तीका क्लबहरूलाई पहिलो प्राथमिकतामा राखेर सहभागी गराइने क्लबका सचिव पवन श्रेष्ठले बताए। लिगकम नकआउट विधिबाट सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई सेवासुविधाबापत रु. ५०–५० हजार प्रदान गर्ने आयोजकले जनाएको छ। जिल्लाबाहिरका खेलाडी राख्न चाहने टिमले बढीमा चारजना मात्र खेलाडी भित्र्याउन पाउने नियम बनाइएको अध्यक्ष राईले जानकारी दिए।

यसअघि ११औँ संस्करणको उपाधि आयोजक क्लब आफैँले जितेको थियो। दशौँ संस्करणको उपाधि भने खारम्बु स्पोर्टस् क्लब दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ११ खार्मीले जितेको थियो।

सुझावित समाचार