टिकटकलगायत सामाजिक सञ्जाल कसरी सुरक्षा चुनौती बन्दै छन् ?
सामाजिक सञ्जाल ‘इन्टरटेनमेन्ट’को ‘प्लेटफार्म’ हो । तर, इन्टरटेनमेन्टका नाममा त्यहाँ पोस्ट हुने सामग्री, तस्बिर, भिडियो या ‘लाइभ’ प्रस्तुतिले समाजको सद्भावमा खलल पुर्याउने, राष्ट्रिय सुरक्षामा हानि नोक्सानी पुर्याउने, व्यक्तिको सुरक्षामा समस्या सिर्जना गर्ने अवस्था पनि हुन सक्छ । संविधान र कानुनले रोक लगाएका ‘कन्टेन्ट’ सञ्जालमा आउँदा त्यसले समाजमा समस्या सिर्जना गर्छ ।
सामाजिक सञ्जालमा कस्ता सामग्री राख्न पाइन्न ? र, राखेमा कस्तो सजाय हुने कानुनी व्यवस्था छ ?
विद्युतीय कारोबार ऐनको दफा ४७ मा प्रचलित कानुनले रोक लगाएका सामग्री सामाजिक सञ्जालमा राख्न नपाइनेबारे प्रस्ट पारिएको छ । सामान्यतः धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव भड्काउने, समाजमा द्वेष तथा घृणा फैलाउने सामग्रीको कुनै पनि माध्यमबाट प्रचार प्रसार गरेमा एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद या दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ । कानुनको अज्ञानता अक्षम्य हुँदैन । त्यसैले, हामीले त्यस्ता कुनै पनि सामग्री सञ्जालमा पोस्ट गर्नु हुँदैन । अरूका सामग्रीमा लाइक, कमेन्ट र सेयर गर्नु हुँदैन ।
विदेशबाट सञ्चालित सामाजिक सञ्जालहरूको नियमन कसरी गर्न सकिएला ?
यस्ता कुनै पनि सूचना साइबर ब्युरोमा आउँछन् । हाम्रो आफ्नै संयन्त्रबाट पनि सूचना प्राप्त हुन्छ । सूचना पाइसकेपछि हामी सम्बन्धित व्यक्तिलाई खोजेर पक्राउ गरी कारबाही प्रक्रियामा पनि जान्छौँ । कतिपय अवस्थामा सम्बन्धित कम्पनीलाई भनेर पनि त्यस्ता सामग्री हटाउन लगाउँछौँ । सम्बन्धित कम्पनीको आफ्नै ‘कम्युनिटी गाइडलाइन’ले पनि आफैँ त्यस्ता सामग्रीलाई हटाइदिने गर्छ ।