भौतिक र पर्यटन विकासमा चार पालिकाको सहकार्य

आइतबार, १९ कार्तिक, २०८०
डिजिटल संस्करण

काभ्रे जिल्लाका चार गाउँपालिका रोशी, महाभारत, खानीखोला र बेथानचोकले पालिकाको भौतिक र पर्यटन विकासमा एकजुट भएर लाग्ने निर्णय गरेका छन् । सिमाना जोडिएका यी चार पालिकाको सीमाक्षेत्रमा पर्यटकीय स्थलहरू रहेकाले त्यसको विकासका लागि चारै पालिकाले संयुक्त पहलकदमी गर्ने भएका हुन् ।

रोशी गाउँपालिकाको सभाहलमा रोशी गाउँपालिकाकै अध्यक्ष दिनेश लामाको अध्यक्षतामा अन्तरपालिका बैठक बसी उक्त निर्णय गरेका हुन् । बैठकले पर्यटन पूर्वाधार, भौतिक पूर्वाधार, विपत् व्यवस्थापन, शिक्षा, स्वास्थ्य, साझा प्राकृतिक स्रोतको उपयोग र व्यवस्थापनको विषयमा चार पालिकाबीच साझेदारी रूपमा के गर्न सकिन्छ भन्नेबारे छलफल भएको थियो । बैठकले जनमुक्तिमार्गको गोकुले–तालढुंगा–भोर्लेनी सडकखण्ड र पिन्थली–रजवास–भुमेचुली सडकखण्ड निर्माण कार्यका लागि र महाभारत ट्रेल (पर्यटन पदमार्ग)को बेथानचोक–ताराखसे लेकसम्मको ठेक्का प्रक्रियाका लागि आवश्यक विशेष पहल गर्ने निर्णय गरेको छ ।

बैठकमा रोशी गाउँपालिका, खानीखोला गाउँपालिका, बेथानचोक गाउँपालिका र महाभारत गाउँपालिकाभित्रका जनताहरूको आयस्तरमा वृद्धि गरी समृद्ध पालिका निर्माणका लागि पर्यटकीय गन्तव्यको पहिचान र संरक्षण गरी एकीकृत पर्यटन पूर्वाधार विकासको संयुक्त प्रयास गर्ने निर्णय भएको छ । महाभारत ट्रेल (पर्यटन पदमार्ग), बेथानचोक नारायणस्थान, तीनतले झरना, शिवपार्वती गुफा, कपेर महाँकाल, तिलेश्वर पर्यटन क्षेत्र, ताराखसे लेक, घ्याङलेक, चैतेपानी तथा भुमेचुली पर्यटन क्षेत्रको पूर्वाधार निर्माण, व्यवस्थापन र प्रवर्द्धनमा संयुक्त लगानी गर्न एकीकृत कार्ययोजना निर्माण गरी कार्यान्वयनमा प्रभावकारी पहल गर्ने निर्णय भएको रोशीका अध्यक्ष लामाले जानकारी दिए । उक्त पर्यटकीय क्षेत्रको विकासका लागि बागमती प्रदेश र संघीय सरकारसमक्ष बजेट व्यवस्थापनका लागि संयुक्त पहल गर्ने निर्णय भएको उनको भनाइ छ ।

त्यस्तै, भौतिक पूर्वाधार विकासका लागि चारै गाउँपालिकालाई समेट्ने गरी जनमुक्ति मार्ग निर्माणका लागि संयुक्त पहल गर्ने र चारवटै गाउँपालिकाभित्र पर्ने विभिन्न सडक, पुल, सिँचाइ तथा भवनलगायतका भौतिक पूर्वाधार निर्माणसँग सम्बन्धित आयोजनाहरू कार्यान्वयन गर्दा पालिकाहरूबीच आवश्यक समन्वय, सहकार्य र समझदारी कायम गरी संयुक्त रूपमा बजेट विनियोजन गर्ने र थप बजेट व्यवस्थाका लागि प्रदेश तथा संघीय सरकारसमक्ष संयुक्त पहल गर्ने निर्णय भएको छ । चौकीडाँडा–सिपाली–महाभारत सडक सञ्जाल, खोपासी–च्याम्राङबेँसी–तालढुंगा सडक, खोपासी–च्याम्राङबेँसी–सुकुमफेदी–फापरबारी सडक, फलामेसाँघु–ताराखसे लेक–महाभारत सडक, फलामेसाँघु–तिनधारे झरना–खानीखोला सडक र फलामेसाँघु–महाँकाल भुग्देउ–कामीडाँडा सडक स्तरोन्नतिका लागि चारै पालिकाले बजेट छुट्याउने र थप बजेटका लागि बागमती प्रदेश र संघ सरकारलाई संयुक्त रूपमा पहल गर्ने निर्णय निर्णय भएको छ ।

मानव स्वास्थ्य तथा पशुजन्य विपत् तथा अन्य प्रकारका प्रकोपहरूको पहिचान गरी सोको न्यूनीकरण तथा व्यवस्थापनका लागि चारवटै पालिकाले एकीकृत कार्ययोजना बनाई अगाडि बढ्ने, चारवटै पालिकाको भौगोलिक साँध–सिमानाका सम्बन्धमा उत्पन्न असमझदारीको पहिचान गरी सहअस्तित्वको भावनाअनुरूप एक–आपसमा समन्वय, सहकार्य र समझदारीपूर्वक समाधानका लागि पहल गर्नेजस्ता निर्णय भएको लामाले बताए ।

See More On

सुझावित समाचार