पहिलो त्रैमासमा वाणिज्य बैंकको अवस्था : खराब कर्जा बढ्दा नाफामा गिरावट

शनिबार, १८ कार्तिक, २०८०
डिजिटल संस्करण

फेरि बढ्यो बैंकहरूको खराब कर्जा अनुपात, वाणिज्य बैंकको नाफामा १८.६० प्रतिशतको ह्रास, सरकारी स्वामित्वको कृषि विकास घाटामा

चालू आव ०८०/८१ को पहिलो त्रैमास (असार–असोज)मा वाणिज्य बैंकहरूको निष्क्रिय (खराब) कर्जा अनुपात पुनः बढेको छ । गत आवको सुरुदेखि बढ्दै गएको वाणिज्य बैंकहरूको खराब कर्जा अनुपात गत असारसम्म आउँदा भने घटेको थियो । तर, चालू आवको असोज मसान्तसम्म आउँदा खराब कर्जा अनुपात पुनः बढेको छ । 

हाल नेपालमा वाणिज्य बैंकको संख्या २० छ । अघिल्लो आव ०७८/७९ मा उनीहरूको खराब कर्जा अनुपात औसत १.२० प्रतिशत थियो । गत आवको पहिलो त्रैमासमा बढेर १.६६ प्रतिशत पुगेको थियो । तेस्रो त्रैमाससम्म अर्थात् गत चैत मसान्तसम्म आउँदा त्यो बढेर ३ प्रतिशतमाथि पुगेको थियो । असार मसान्तसम्म आउँदा भने घटेर २.७० प्रतिशतमा झरेको थियो । तर, असोजसम्म आउँदा खराब कर्जा पुनः बढेर ३.४० प्रतिशत पुगेको छ । यो गत आवको असोजसम्म र असाार मसान्तसम्मकै तुलनामा बढी हो । वाणिज्य बैंकहरूले शुक्रबार सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । 

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा सातवटा बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा पनि माथि छ । त्यसमा कृषि विकास बैंकको खराब कर्जा अनुपात सबैभन्दा बढी देखिएको छ । असोज ०७९ सम्म २.३८ प्रतिशत रहेको कृषि विकास बैंकको खराब कर्जा असोज ०८० सम्म आउँदा ५.३३ प्रतिशत पुगेको छ । 

यसैगरी, कुमारी बैंकको ४.८९ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ४.८३ प्रतिशत, लक्ष्मी सन्राइजको ४.६९ र हिमालयनको ४.६७ प्रतिशत खराज कर्जा अनुपात छ । यसैगरी, ग्लोबल आइएमई बैंकमा ४.३८ प्रतिशत र प्रभु बैंकमा ३.९७ प्रतिशत खराब कर्जा अनुपात देखिएको छ । कृषि विकासबाहेक यी सबै गत आवमा मर्जरमा गएका बैंक हुन् । तर, उनीहरूकै खराब कर्जा अनुपात बढी देखिएको छ । 

मर्जरमा गएका अन्य बैंकको पनि खराब कर्जा अनुपात उच्च देखिएको छ । मर्जरमा नगएका अन्य बैंकहरूको खराब कर्जा पनि बढेको वित्तीय विवरणले देखाएको छ । समीक्षा अवधिमा एभरेष्ट बैंकको खराब कर्जा भने सबैभन्दा कम छ । असोज मसान्तसम्म उक्त बैंकको खराब कर्जा अनुपात ०.९ प्रतिशत मात्रै छ । यद्यपि, गत आवको सोही अवधिको तुलनामा त्यो पनि बढी नै हो । गत आवको सोही अवधीमा एभरेष्ट बैंकको खराब कर्जा ०.३३ प्रतिशत थियो । 

किन बढ्यो खराब कर्जा ?
मुख्यतः पछिल्लो समय अर्थतन्त्रमा देखिएको शिथिलताले नै खराब कर्जा अनुपात बढेको हो । आर्थिक शिथिलताले बैंकहरूको कर्जा असुल पूर्ण रूपमा भएको छैन । 

आर्थिक शिथिलताका कारण अधिकांश क्षेत्रको आम्दानी घटेसँगै ऋणीहरूको ऋण तिर्ने क्षमता घटेको छ । त्यसले गर्दा खराब कर्जा अनुपात बढेको बैंकरहरू बताउँछन् । अघिल्लो आवदेखि नै देखिएको आर्थिक शिथिलता अझै कायमै छ । त्यसले गर्दा खराब कर्जा अनुपात घटाउन नसकेको बैंकरहरूको ठहर छ । 

आर्थिक वर्षको अन्तिम समय भएका कारण गत असारमा बैंकहरू ऋण असुलीमा बढी केन्द्रित भएका थिए । राष्ट्र बैंकले पनि आर्थिक संकटबाट प्रभावित क्षेत्रको कर्जालाई पुनर्तालिकीकरण र पुनर्संरचना गर्न दिने नीति ल्याएको थियो । फलस्वरूप गत असारमा बैंकहरूको खराब कर्जा अनुपात घटेको थियो । तर, स्थिति सामान्य नहुँदा चालू आवमा खराब कर्जा अनुपात पुनः बढ्न थालेको बैंकरको भनाइ छ । ऋणीले ६ महिनासम्म कर्जाको साँवा तथा ब्याज भुक्तानी नगरेमा त्यस्तो ऋण खराब कर्जामा पर्ने व्यवस्था छ ।

१८.६० प्रतिशतले घट्यो नाफा 
खराब कर्जा बढ्दा समीक्षा अवधिमा बैंकहरूको नाफा पनि उच्च दरमा घटेको छ । समीक्षा अवधिमा २० वाणिज्य बैंकको नाफा औसतमा १८.६० प्रतिशतले घटेको छ । त्यसमा कृषि विकास बैंक भने घाटामै गएको वित्तीय विवरणले पुष्टि गरेको छ । गत आवको पहिलो त्रैमासमा २० वाणिज्य बैंकले १६ अर्ब ५५ करोड ७ लाख रुपैयाँ नाफा कमाएका थिए । तर, चालू आवको पहिलो त्रैमासमा त्यो तीन अर्ब सात करोड ८७ लाखले घटेर १३ अर्ब ४७ करोड २० लाख रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा १३ वटा बैंकको नाफा घटेको छ । समग्र वाणिज्य बैंकहरूको औसत नाफा घट्दा सात बैंकले भने नाफा बढाएका छन् । समीक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई, प्राइम कमर्सियल, हिमालयन, प्रभु, एनएमबि, स्ट्यान्डर्ड चार्टर्ड र माछापुच्छ«े बैंकले नाफा बढाएका छन् । त्यसबाहेक अन्य बैंकहरूको नाफा घटेको वित्तीय विवरणमा उल्लेख छ । 

घाटामै कृषि विकास बैंक
समीक्षा अवधिमा सरकारी स्वामित्वको कृषि विकास बैंक भने घाटामै गएको छ । उक्त बैंक ८८ करोड ८० लाख ७१ हजार रुपैयाँ घाटामा गएको हो । विशेष गरी खराब कर्जा बढी हँुदा कृषि विकास बैंक घाटामा गएको देखिन्छ । गत आवको समीक्षा अवधिमा कृिष विकास बैंक २२ करोड नौ लाख ५३ हजार रुपैयाँले नाफामा थियो ।

किन घट्यो नाफा ? 
मुख्यतः बैंकहरूको खराब कर्जा बढ्दा नै नाफा घट्न गएको हो । बैंकहरूले खराब कर्जाबापत छुट्टै रकम प्रोभिजनिङ गर्नुपर्छ, जुन रकम नाफा–नोक्सान खाताबाट छुट्याउनुपर्छ । अहिले खराब कर्जा बढ्दा बैंकहरूले त्यसबापत गर्नुपर्ने प्रोभिजन रकम बढेको छ । त्यसले गर्दा पनि बैंकहरूको नाफामा कमी आएको जानकारहरू बताउँछन् । 

यसैगरी, पछिल्लो समय बैंकहरूको आम्दानी पनि राम्रो छैन । बैंकहरूको मुख्य आम्दानीको स्रोत नै कर्जाको ब्याजबापत हुने आम्दानी हो । तर, पछिल्लो समय कर्जा प्रवाहमा कमी आउँदा बैंकहरूको आम्दानी पनि स्वतः प्रभावित भएको छ । तर, उच्च ब्याजदर हुँदा निक्षेपको ब्याजबापत हुने खर्च भने उच्च नै छ । यसैगरी, सेयर बजारमा ह्रास आउँदा सेयर कारोबारबाट हुने आम्दानी पनि प्रभावित भएको छ । 

यी हुन् धेरै नाफा कमाउने बैंक
समीक्षा अवधिमा नाफा कमाउने मामिलामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक पहिलो नम्बरमा आएको छ । असोज मसान्तसम्म उक्त बैंकले एक अर्ब ५२ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ । 

दोस्रो स्थानमा भने नबिल बैंक छ । समीक्षा अवधिमा उक्त बैंकले एक अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले एक अर्ब २२ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ ।

See More On

सुझावित समाचार