शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी रुकुमपश्चिमको सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा वडा नम्बर २ परियार टोलका १२ वर्षीया मनीषा परियार, वडा नम्बर १ चाइना बगरका ३१ वर्षीय धनवीर पुन, सोही ठाउँकै २८ वर्षीया चुम्निमा पुन, ८ वर्षीय यमराज पुन र २ वर्षीय सितम पुन रहेका छन्। त्यस्तै, विभिन्न वडामा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा ६.४ रेक्टर स्केलको भूकम्पले रुकुमपश्चिममा ठूलो क्षति गरेको छ।
जिल्लाको आठबीसकोटमा सबैभन्दा बढी क्षति पुगेका खबरहरू आइरहेका छन्। त्यहाँ १ दर्जन बढीको ज्यान गएको बताइएको छ। घटनास्थलमा प्रहरी टोली पुगेको र पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ। रातको समयमा भूकम्प गएकाले उज्यालो भएपछि विवरणहरू थपिन सक्ने प्रहरीको भनाइ छ।