१० वर्षपछि नेपाल टी-२० विश्वकपमा छनोट

टि-२० विश्वकप एसिया छनोट

शुक्रबार, १७ कार्तिक, २०८०
डिजिटल संस्करण

नेपाल र ओमान आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसिसी विश्वकपमा छनोट भएका छन्। शुक्रबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई आठ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा स्थान बनाएका हुन्। 

यस खेलसँगै नेपाल र ओमानले एसिया छनोटको फाइलन खेल्नेछन्। फाइनल आइतबार हुनेछ। नेपाल समूह ‘ए’को उपविजेता र युएई समूह ‘ए’को विजेता हुन्। समूह ‘ए’बाट ओमान विजेता र बहराइन समूह ‘बी’को उपविजेता भयो। 

मूलपानी माथिल्लो मैदानमा युएईले नेपाललाई विजयी हुन एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ। जवाफी ब्याटिङमा उत्रिएको नेपालले दुई विकेट गुमाउँदै १७.१ ओभरमा लक्ष्य भेटाएको हो। 

युएईविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन्। उनले ५१ बलमा ६५ रन बनाए । कप्तान रोहितकुमार पौडेलले २० बलमा ३३ रन बनाए। 

पहिलो विकेटको रूपमा आठ बलमा ११ रन बनाएर ओपनर कुशल भुर्तेल आउट भए । दुई चौका प्रहार गरेका कुशललाई निलान्स केश्वानीले कप्तान मुहम्मद वासिमबाट क्याच आउट गराए। 

दोस्रो विकेटको रूपमा २२ रन बनाएका गुल्सन झालाई गुमायो । तेस्रो नम्बर क्रिजमा आएका गुल्सनले तीन चौकासहित २४ बलमा २२ रन बनाए । बसिल हमिदले गुल्सनलाई बोल्ड गर्दा नेपाल ९.३ ओभरमा ६७ रन बनाएर खेलिरहेको थियो । 

युएईको प्रतिस्पर्धात्मक लक्ष्य 
मूलपानीस्थित माथिल्लो मैदानमा युएईका कप्तान मोहम्मद वासिम टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । युएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रन बनाएको थियो । तेस्रो नम्बर क्रिजमा आएका भृत्या अरविन्दले अर्धशतकीय इनिङ्स खेले । उनले ५० बलमा आठ चौका र दुई छक्कासहित ६४ रन बनाए । भृत्यालाई कुशल मल्लले गुल्सन झाबाट क्याच गराएका हुन्। 

कप्तान मुहम्मद वासिमले २६, अलिशान सराफुले १६, आसिफ खानले १३ रन बनाए । नेपालका कुशल मल्लले सर्वाधिक तीन विकेट लिए । सन्दीप लामिछानेले दुई विकेट लिए । यसबाहेक, सोमपाल कामी, कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिएका थिए। 

यसअघि तेस्रो ओभरमा नेपालले युएईका दुई ओपनरको विकेट लिएको थियो । ३.१ ओभरमा सोमपाल कामीले ओपनर खालिद शाहलाई रनआउट गराएका हुन् । ओपनर खालिद चार बलमा तीन रन बनाएर आउट भएका थिए। 

३.४ ओभरमा कप्तान तथा ओपनर मोहम्मद वासिम आउट भए । १६ बलमा २७ रन बनाएर वासिमलाई सोमपालले करण केसीको हातबाट क्याचआउट गराएका हुन् । वासिमले तीन चौका र दुई छक्का प्रहार गरे । सन्दीपले पहिलो विकेट लिने क्रममा ९.६ बलमा आसिफ खानलाई एलबिडब्लु धरापमा पारे। १४ बलमा १३ रन बनाएका आसिफले एक चौका प्रहार गरेका थिए । जुन समय युएई ६२–३ को स्थितिमा रह्यो। 

कुशल मल्लले चौथो विकेटको रूपमा एलिशान सराफुलाई सोमपाल कामीबाट क्याचआउट गराए । १४ बलमा १६ रन बनाएर सराफु १३.४ ओभरमा पेभिलियन फर्किए । पाँचौँ विकेटको रूपमा कप्तान रोहितकुमार पौडेलले सात बलमा चार रन बनाएका अली नासिरलाई आउट गरे। १५.५ ओभरमा एक सय रन जोड्दा नासिर आउट भएका हुन्। घाइते भएपछि दुई खेल बाहिर रहेका दीपेन्द्रसिंह ऐरी टोलीमा फर्किए।

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

सुझावित समाचार