नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले काठमाडौं उपत्यकामा मात्र केन्द्रित नभई सबै प्रदेश र स्थानीय तहसम्म पुगेर बिमा व्यवसाय विस्तार गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।मर्जर भएका बिमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतसँगको छलफल एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले पुँजीको अधिकतम सदुपयोग हुने गरी अघि बढ्न निर्देशन दिएका हुन् ।
बिमा कम्पनीको आफ्नै व्यावसायिक रणनीति हुनुपर्ने बताउँदै उनले बिमा व्यवसायलाई स्वच्छ, स्थिर, दिगो र नाफामूलक बनाउनुपर्ने बताए । बिमा गर्न नागरिक कम्पनी खोज्दै आउने नभई कम्पनीहरू नै नागरिककोमा जानुपर्ने तथा कम्पनीहरू व्यावसायिक रूपमा अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
त्यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणले पुँजी वृद्धिको निर्णय गरेपश्चात् बिमा कम्पनीहरू पुँजी पुर्याउन स्वतस्फूर्त रूपमा मर्जरमा गएको उल्लेख गर्दै कम्पनीहरूले तोकिएको अवधिभित्र पुँजी पुर्याउनुपर्ने र त्यसका लागि सहजीकरण गर्न प्राधिकरण तयार रहेको बताए । कार्यकारी निर्देशक पौडेलले बिमा कम्पनीहरूको मर्जरपश्चात् विशेषगरी कर्मचारीका सम्बन्धमा गुनासाहरू आएकाले त्यस्ता गुनासा आन्तरिक रूपमै समाधान गर्न र कर्मचारीलाई मर्का नपार्न तथा प्रदेश कार्यालयहरूलाई नमुनाका रूपमा सञ्चालन गर्न निर्देशनसमेत दिए ।
कार्यक्रममा मर्जर भएका बिमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूले मिश्रित धारणा राख्दै केही बिमा कम्पनीका तर्फबाट मर्जरपश्चात् निर्देशिकाबमोजिम कर्मचारीहरूको व्यवस्थापन गरेको, कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याएको, मर्जरबाट ठूलो समस्या नआएको र स–साना समस्याहरू आफँै समाधान गरी अगाडि बढेको धारणा राखेका थिए ।