आयोजक भारत एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मुम्बईको वाँखडे रंगशालामा भारतले बिहीबार पूर्वविजेता श्रीलंकामाथि तीन सय दुई रनको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो । भारतले सात खेलमा लगातार जित निकाली सर्वाधिक १४ अंक जोडेको छ । भारतले पहिलो ब्याटिङ गरी ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय ५७ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा श्रीलंका १९.४ ओभरमा सबै विकेट गुमाउँदै ५५ रनमै समेटियो ।
एकदिवसीय खेलमा श्रीलंका १४औँ कम योगफलमा अलआउट भएको हो । एकदिवसीय खेल इतिहासमा जिम्बावे अहिलेसम्म ३५ रनको कम योगफलमा धराशायी भएको छ । भारतले विश्वकप इतिहासमा पहिलोपटक फराकिलो जितअन्तर निकाल्यो । यसअघि सन् २००७ मा भारतले बमुन्डालाई दुई सय ५७ रनले हराएको थियो ।
सामीले लिए ५ विकेट
भारतलाई वाँखडे रंगशालामा सानदार जित दिलाउने क्रममा बलिङतर्फ मोहमद सामीले पाँच विकेट लिएका थिए । उनले पाँच ओभरमा एक मेडन राखी १८ रन खर्चेका थिए । यसैगरी, मोहमेद सिराजले सात ओभरमा दुई मेडन राखी १६ रन दिँदै तीन विकेट हात पारे । जसप्रित बुमराह र रवीन्द्र जडेजाले समान एक विकेट लिए । श्रीलंकाको कमजोर ब्याटिङ प्रदर्शनमा पाँच ब्याट्सम्यान डकआउट भएका थिए । श्रीलंकाका लागि महिश थिक्षनाले २३ बलमा १२ रन तथा कुसन रजिथाले १७ बलमा १४ रनको योगदान दिएका थिए ।
इनिङ्सको एक समय श्रीलंका १३.१ ओभरमा २९/८ को अवस्थामा थियो । श्रीलंका इतिहासमै पहिलोपटक जिम्बावेको खराब रेकर्डनजिक पुगेको थियो । तर, कुसन र महिशले नवौँ विकेटका लागि २० रन जोडेपछि श्रीलंकाले ४९÷९ को प्रदर्शन ग¥यो । श्रीलंकाले पावर प्लेमै पाँच विकेट गुमाउँदा स्कोर बोर्डमा १४ रन मात्र बनाएको थियो । हारसँगै श्रीलंका विश्वकपको सेमिफाइनल पुग्ने दौडबाट बाहिरिएको छ । श्रीलंकाले सात खेलबाट चार अंक मात्र बनाएको छ । श्रीलंका अहिले सातौँ स्थानमा छ ।
कोहली सचिनको बराबरी गर्न चुके
पहिलो ब्याटिङ गरेको भारतका पूर्वकप्तान विराट कोहली सचिन तेन्दुलकरको कीर्तिमानी ४९औँ एकदिवसीय रेकर्ड बराबरी गर्नबाट चुकेका छन् । कोहलीको नाममा ४८ एकदिवसीय शतक रहेको छ । प्रतियोगिताअन्तर्गत नै उनले बंगलादेशविरुद्ध शतकीय इनिङ्स खेलेका थिए । श्रीलंकासँगको खेलमा उनी ८८ रनमा आउट भए ।
उनले ९४ बलमा ११ चौका प्रहार गरेका थिए । भारतको सुरुवात गतिलो भएन । इनिङ्सको दोस्रो बलमै कप्तान रोहित शर्मालाई भारतले गुमाएको थियो । त्यसपछि कोहली र शुभमन गिलले दोस्रो विकेटका लागि एक सय ८९ रनको साझेदारी गर्दै भारतलाई १९३÷२ को बलियो स्थितिमा पु¥याए । गिलले ९२ बलमा ११ चौका र दुई छक्काको सहयोगमा ९२ रन जोडे । यसैगरी, श्रेयस ऐयरले ५६ बलमा तीन चौका र ६ छक्काको सहयोगमा ८२ रन बनाए । लोकेश राहुल र सूर्यकुमार यादवबीच चौथो विकेटका लागि ५० रनको साझेदारी भएको थियो । जडेजाले २३ बलमा ३५ रन बनाए ।