घरेलु टोली नेपाललाई हराउँदै ओमान समूह विजेता

बिहिबार, १६ कार्तिक, २०८०
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा घरेलु टोली नेपाललाई पाँच रनले हराउँदै ओमान समूह विजेता बनेको छ। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा एक सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदा मात्र एक सय ४० रन बनाउन सक्यो। 

नेपालले आक्रामक सुरुवात गरे पनि पछिल्लो क्रमका ब्याटरले कमजोर प्रदर्शन गरे। ओपनर कुशल भुर्तेलले १८ बलमा सर्वाधिक २६ रन जोडे। सोमपाल कामी, कुशल मल्ल र सन्दीप जोराले समान १२ रन जोडेका हुन्। कुशल मल्लले १० रन लिए।

ओपनर आसिफ शेख, गुल्सन झा, सन्दीप लामिछानेले दोहोरो अंकमा रन बनाउन सकेनन्। विवेक यादवले ३९ र करण केसीले १५ रनको योगदान गरेका थिए। 

टस हारेर सुरुआती ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा  नाै विकेट गुमाउँदै एक सय ४५ रन बनाएको थियो। ओमानविरुद्ध करण केसीले सर्वाधिक तीन विकेट लिए। उनले चार ओभरमा ४३ रन खर्चिए। 

सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट हात पारे। सन्दीपले ३० र सोमपालले १६ रन खर्चिएका थिए । यसैगरी गुल्सन झा र अभिनाश बोहाेराले समान एक विकेट लिएका छन्। 

ओमानको इनिङ्समा कप्तान जिसन मक्सुदले सर्वाधिक ३२ रन बनाए। २६ बलमा एक चौका र तीन छक्का प्रहार गरेका मक्सुदलाई अभिनाश बोहाेराले विकेटकिपर आसिफ शेखलबाट क्याच गराएका थिए। 

ओपनर प्रतिक अथाभाले १८ बलमा २४ रन जोडे। नसिम खुसीले। २५ रन, आयन खानले १८ रनको योगदान गरेका हुन्। सकिव अहमदले अविजित १७ बलमा २२ रन बनाए। 

यसअघिको दुवै खेलमा ओमान र नेपाल विजयी भएका थिए। समूहमा यो खेलसँगै नेपालको अपराजित यात्रा टुंगिएकाे छ। एक खेलअघि नै दुवै टोली अन्तिम ४ मा प्रवेश गरिसकेका छन्।
 

सुझावित समाचार