आइसिसी टी–२० विश्वकप एसियन छनोट
आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा ओमानले घरेलु टोली नेपाललाई एक सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर सुरुआती ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदै एक सय ४५ रन बनाएको हो ।
ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसीले सर्वाधिक तीन विकेट लिए । उनले चार ओभरमा ४३ रन खर्चिए । सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट हात पारे । सन्दीपले ३० र सोमपालले १६ रन खर्चिएका थिए । यसैगरी, गुल्सन झा र अभिनाश बोहाेराले समान एक विकेट लिए ।
ओमानको इनिङ्समा कप्तान जिसन मक्सुदले सर्वाधिक ३२ रन बनाए । २६ बलमा एक चौका र तीन छक्का प्रहार गरेका मक्सुदलाई अभिनाश बोहाेराले विकेटकिपर आसिफ शेखलबाट क्याच गराएका थिए । ओपनर प्रतीक अथाभाले १८ बलमा २४ रन जोडे । नसिम खुसीले २५ रन, आयन खानले १८ रनको योगदान गरे । सकिव अहमदले अविजित १७ बलमा २२ रन बनाए ।
नेपाल आजको खेल जित्दै समूह विजेता बन्ने लक्ष्यमा छ । यसअघिको दुवै खेलमा ओमान र नेपाल विजयी भएका थिए । समूहमा यो खेलसँगै एक टोलीको अपराजित यात्रा टुंगिनेछ । एक खेलअघि नै दुवै टोली अन्तिम ४ मा प्रवेश गरिसकेका छन् ।
सोमपालको ५० विकेट पूरा
नेपालका तीव्रगतिका बलर सोमपाल कामीले ५० विकेट पूरा गरेका छन् । उनले ओमानविरुद्ध दुई विकेट लिँदै ५० विकेट पूरा गरेका हुन् । नेपालको तर्फबाट ५० विकेट पूरा गर्ने उनी चौथो खेलाडी बनेका छन् । यसअघि सन्दीप लामिछाने, करण केसी, अभिनाश बोहाेराले ५० विकेट पूरा गरेका थिए ।