१२ बुँदे समझदारी पक्षधर शक्तिको समीक्षा बैठक बोलाइँदै

बिहिबार, १६ कार्तिक, २०८०
डिजिटल संस्करण

तीन ठूला दलका शीर्ष नेताले गणतन्त्रलगायत प्राप्त उपलब्धिको रक्षा तथा सुदृढीकरणका लागि १२ बुँदे समझदारी पक्षधर शक्तिको समीक्षा बैठक बोलाउने निर्णय गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार बिहान प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भएको छलफलमा संविधान र गणतन्त्र सुदृढ तथा रक्षाका लागि समीक्षा बैठक बोलाउने समझदारी गरेका हुन् । 

माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले प्राप्त उपलब्धिको रक्षा र सुदृढीकरणका लागि समीक्षा बैठक बोलाउने समझदारी भएको बताए । ‘१२बुँदे समझदारीका पक्षधरहरू, अग्रगमनका पक्षधर, परिवर्तनका पक्षधरहरूबीच संविधान र गणतन्त्र रक्षा एवं सुदृढ गर्न समीक्षा बैठक बोलाउने समझदारी भएको छ,’ सापकोटाले भने, ‘अराजकता नियन्त्रण गर्न र सहमतिमा राष्ट्रिय दृष्टिकोण निर्माणका लागि बैठक हुँदै छ ।’

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दलहरूबीच स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ र व्यवस्थामाथि उठेका प्रश्नको सामूहिक जवाफ दिनुपर्छ भन्ने नै छलफलको सार रहेको बताए । ‘१२बुँदे समझदारीपछिको शान्ति प्रक्रिया, संविधान निर्माणदेखि अहिलेको उपलब्धिबारे जनतालाई बुझाउन नसकेको हो कि हामी आफैँले बुझ्न नसकेको हो, समीक्षा गर्नुपर्छ । प्राप्त उपलब्धिको रक्षाका लागि दलहरूबीच स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ । व्यवस्थामाथि उठेका प्रश्नको भने सामूहिक जवाफ दिनुपर्छ भन्ने छलफलको सार हो,’ विश्वकर्माले भने ।

बुधबार नै पार्टी कार्यालय पेरिसडाँडामा आयोजित उपत्यकाका केन्द्रीय सदस्यहरूको बैठकमा प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् । उनले १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर शक्ति एकैठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् । हिजो विभिन्न काण्ड मच्चाउनेहरूले नै आज शान्ति र जनताको कुरा गरिरहेको भन्दै प्रचण्डले चेतावनी दिए, ‘जनताको भावना भड्काएर परिवर्तन उल्टाउन सकिन्छ कि भन्ने कसैले नसोच्दा हुन्छ । त्यस्ता षड्यन्त्र लोकतान्त्रिक शक्तिहरू मिलेर परास्त गरिन्छ ।’

सुझावित समाचार