अस्ट्रेलियाले अन्तिम समयमा आयोजनाको दाबेदारी प्रस्तुत नगर्ने भएपछि साउदी अरेबियाले सन् २०३४ को फिफा विश्वकप फुटबल प्रतियोगिता गर्ने निश्चित भएको छ । ११ वर्षपछि हुने विश्वकपमा अहिले साउदी अरेबिया मात्र एक्लो दाबेदारका रूपमा अगाडि बढेको छ ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले साउदी अरेबियाबाहेक अन्य कुनै पनि राष्ट्रले आयोजनाको दाबेदारी प्रस्तुत नगरेको जनाएका छन् । यससँगै उनले साउदी अरेबियाले नै विश्वकप आयोजना गर्ने जनाएका छन् । सन् २०३४ को विश्वकप आयोजनामाथि दाबी प्रस्तुत गर्न मंगलबार रातिसम्म डेटलाइन थियो । यस अवधिमा साउदी अरेबिया र अस्ट्रेलिया मात्र अगाडि थिए । तर, अन्तिम डेटलाइनमा अस्ट्रेलियाले दाबी प्रस्तुत नगर्ने जनायो ।
अस्ट्रेलियन फुटबलका प्रमुख जेम्स जोहान्सनले अस्ट्रेलिया ११ वर्षपछि विश्वकप आयोजक बन्न इच्छुक नभएको स्पष्ट पारेका छन् । ‘हामी सन् २०३४ को विश्वकप आयोजना गर्न तयार छैनौँ,’ जेम्सले भनेका छन्, ‘साउदी अरेबियालाई प्रमुख दाबेदारका रूपमा हामीले पनि लिएका छौँ ।’ साउदी अरेबियाले सञ्चालन गरिरहेको प्रो लिगमा युरोपियन खेलाडीहरूको आमगनले पनि विश्वकप आयोजना गर्न सक्ने राष्ट्रका रूपमा आफूले लिएको उनले बताए ।
‘वर्तमान समयमा साउदी प्रो लिगमा हामी कसैले पनि नसोचेको रकम बगिरहेको छ, त्यस किसिमको लगानी हामी गर्न सक्दैनौँ,’ जेम्सले अस्ट्रेलियाले विश्वकप आयोजना गर्न नसक्नुको कारणमध्ये भनेका छन्, ‘सरकार पनि फुटबल प्रतियोगिता आयोजना तयार छैन, धेरै समस्या आउने भएकाले हामीले दाबेदारी प्रस्तुत नगरेका हौँ ।’
फिफाका अध्यक्ष इन्फान्टिनोले फुटबललाई समग्र विश्वलाई एकता दिने खेलका रूपमा टिप्पणी गरेका छन् । ‘फुटबलले विश्वलाई अन्य कुनै खेलजस्तै एकताबद्ध गर्दछ, विश्वकप एकता र समावेशीकरणको सन्देश दिने उत्कृष्ट माध्यम हो,’ उनले भनेका छन्, ‘फरक–फरक देशका विभिन्न संस्कृति कसरी सँगै हुन सक्छन् भन्ने प्रमाण पनि फुटबल हो ।’
सन् २०३४ को विश्वकप आयोजनाका लागि साउदीबाहेक अन्य कुनै राष्ट्रले दाबेदारी नदिए पनि यसको अन्तिम निर्णय भने फिफाको कार्यसमिति बैठकले गर्नेछ । साउदी अरेबिया मध्यपूर्वी एसियामा विश्वकप गर्ने दोस्रो खाडी राष्ट्र हो । गत वर्ष कतारले विश्वकप आयोजना गरेको थियो । जसमा अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा हराएको थियो ।
युरोपियन राष्ट्रलाई समस्या
अरब राष्ट्रमा फुटबल प्रतियोगिता हुँदा विश्वका अन्य फुटबल खेल्ने राष्ट्रलाई समस्या पर्न सक्छ । सामान्य गरी विश्वकप फुटबल प्रतियोगिता जुन र जुलाई महिनामा हुन्छ । तर, यस समयमा खाडी क्षेत्रमा अत्यधिक गर्मी हुन्छ । गर्मी मौसममा फुटबल प्रतियोगिता गर्न सम्भव हुँदैन । यस कारण साउदी अरेबियाले पनि विश्वकप जाडो मौसममै गर्नुपर्ने हुन्छ । यस किसिमको खेल तालिका प्रकाशित हुँदा युरोपियन लिग प्रभावित हुन सक्छ ।