गुटेरेसको सम्बोधनपछि कसले के भने ?

बुधबार, १५ कार्तिक, २०८०
डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले संक्रमणकालीन न्यायमार्फत शान्ति प्रक्रिया टुंग्याउने नेपालको प्रयासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

मंगलबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्याय प्रक्रिया सहज नभएको, तर यो टुंग्याउने प्रक्रियामा नेपाल एक्लै नरहेको बताएका हुन् । 

गुटेरेसको सम्बोधनपछि कसले के भने ?

पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री
महासचिव गुटेरेसले नेपालको समग्र हितका विषयमा बोल्नुभयो, यो नेपाल र नेपालीको निम्ति निकै खुसी र गर्वको कुरा हो । सबै संसारले नेपाललाई मित्रको रूपमा माया र सहयोग गर्नुपर्छ, जलवायु परिवर्तनसम्बन्धी तथा गरिबी निवारणसम्बन्धी फन्डहरूमा दुनियाँले नेपाललाई ध्यान दिनुपर्छ भनेर ठूलो कुरा भन्नुभएको छ । संक्रमणकालीन न्याय टुंग्याउन उहाँ र पूरै अन्तर्राष्ट्रिय समुदायको सहयोगकै वातावरण देखेको छु । नेपालका बारेमा र नेपालको शान्ति प्रक्रियाको बारेमा अन्तर्राष्ट्रिय समुदायको, राष्ट्रसंघको महासचिवको यति राम्रो धारणा छ, तर दुर्भाग्य हाम्रै केही नेता साथीहरूले यस्तो वेलामा देश विभाजित देखाउनुभयो, त्यो भने दुर्भाग्य छ । 

केपी ओली, एमाले अध्यक्ष
महासचिव गुटेरेसले वातावरण, गरिबी निवारण, शान्ति प्रक्रिया टुंग्याउनेलगायत महत्वपूर्ण विषयमा प्रकाश पार्नुभएको छ । नेपाल र नेपालीको राम्रो मूल्यांकन गर्नुभएको छ । गरिब देशलाई धनी र सम्पन्न देशले सहयोग एवं समर्थन गर्नुपर्छ, राष्ट्रसंघमा जनाएका प्रतिबद्धता पूरा गर्नुपर्छ, वातावरणीय विनाशप्रति सबै सजग हुनुपर्छ भन्दै नेपालको सजगता र योगदानप्रति विशेष प्रशंसा गर्नुभएको छ ।

माधवकुमार नेपाल, ए. समाजवादी अध्यक्ष
महासचिव गुटेरेसले नेपालप्रतिको निकटता, आत्मीयता व्यक्त भएको छ, यसले नेपालीलाई गौरवान्वित बनाएको छ । उहाँको सकारात्मक बुझाइबाट संक्रमणकालीन न्याय टुंग्याउन थप बल मिलेको छ । यसमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ । 

डा. शशांक कोइराला, कांग्रेस नेता  
नेपाललाई जति मद्दत गर्ने हो, त्यो गर्नुपर्छ भनेर महासचिवले विश्व समुदायलाई अपिल गर्नुभयो । हाम्रो पक्षमा स्पष्ट बोल्नुभयो । राष्ट्रसंघको प्रमुखका रूपमा आफूले पनि सक्दो सहयोग गर्ने भन्नुभएको छ । उहाँको आगमनले नेपालको मान प्रतिष्ठा बढाएको छ ।  

वर्षमान पुन, माओवादी उपमहासचिव
विकसित देशहरूले नेपालजस्ता जलवायु परिवर्तनबाट प्रभावित र जोखिममा रहेका देशहरूलाई सहयोग गर्नुपर्छ, यो दायित्व हो भन्ने सम्बोधन गर्नु खुसीको कुरा हो, नेपालको गौरव र प्रतिष्ठा बढाएको छ । साथै, विपद् जोखिम न्यूनीकरण, पर्यावरणीय सन्तुलन कायम गर्न सघाउनेछ । 

चित्रबहादुर केसी, जनमोर्चा अध्यक्ष
समयअनुकूल नेपालको अवस्थाको चित्रण गर्नुभएको छ । उहाँलाई धन्यवाद छ । राष्ट्रसंघ शान्ति प्रक्रिया टुंग्याउनुपर्छ, अल्झाएर राख्नुहुन्न भन्ने पक्षमा देखियो । 

दमननाथ ढुंगाना, पूर्वसभामुख 
राष्ट्रसंघका महासचिवको भ्रमण र संसद्मा सम्बोधनले नेपालको महत्व बढेको छ । किनभने बदलिँदो विश्वमा हाम्रो रणनीतिक भूपरिस्थिति त्यस्तै थियो, अहिले नयाँ सन्दर्भहरू जोडिइरहेको छ । नेपाललाई संयुक्त राष्ट्रसंघजस्तो विश्व संस्थाले साथ दिइरहेको छ । हाम्रोजस्तो साना र अविकसित देशका लागि बहुत काम लाग्ने संस्था हो । उनीहरूका लागि पनि हामी महत्वपूर्ण भइरहेका छौँ । किनभने शान्ति कतै नखल्बलियोस् भनेर उनीहरूका केही क्षेत्रहरू, देशहरू हुन्छन्, त्यहाँ पूर्वध्यान दिइरहेका हुन्छन् । हामीकहाँ विकासका सम्भावना त्यति नै बढी छन्, जति अशान्तिका सम्भावना बढिरहेका छन्, त्यसकारण यो पक्षलाई पनि उहाँले पूर्वदृष्टि गर्नुभएको देखियो । 

See More On

सुझावित समाचार