एमालेले आज चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने भएको छ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको तर्फबाट दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम राखिएको एमालेले जनाएको छ ।
आज दिउँसो सवा १२ बजेबाट सुरु हुने कार्यक्रम साँझसम्म सञ्चालन हुने केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले सुरु गरेको कार्यक्रमलाई एमालेले हरेक वर्ष निरन्तरता दिँदै आएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै कार्यक्रमको तालिकामा फेरबदल गरिएको एमालेले जनाएको छ ।
चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमका लागि एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई निमन्त्रणा पठाएको छ ।