आयल निगमको दुई ठूला डिपो प्रमुख हेरफेर

काठमाडौंसहित बागमती प्रदेशमा इन्धन वितरण गर्ने थानकोटमा अशोक शाह

मंगलबार, १४ कार्तिक, २०८०
डिजिटल संस्करण

नेपाल आयल निगम लिमिटेडले काठमाडौंसहित बागमती प्रदेशमा इन्धन वितरण गर्ने थानकोट डिपो र लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवामा नयाँ कार्यालय प्रमुख पठाएको छ ।

थानकोटमा कार्यरत इन्जिनियर शैलेन्द्र भुसालको दुईवर्षे कार्यकाल सकिएपछि केन्द्रीय कार्यालयमा कार्यरत उपनिर्देशक अशोक शाहलाई नयाँ कार्यालय प्रमुखका रूपमा पठाउने निर्णय भएको निगमले जनाएको छ । शाहले आगामी सोमबारदेखि कार्यभार सम्हाल्ने तयारी गरेका छन् ।

त्यस्तै, भैरहवा डिपोमा कार्यरत इन्जिनियर जगदीशचन्द्र यादवले निरन्तर सरुवा माग गरेको कारण देखाउँदै उनलाई केन्द्रीय कार्यालयस्थित आन्तरिक नियन्त्रण तथा नियमन विभागमा सरुवा गरिएको छ भने नयाँ कार्यालय प्रमुखका रूपमा कमला न्यौपानेलाई पठाउने निर्णय भएको स्रोतले जानकारी दिएको छ ।

न्यौपानेको उमेर हदका कारण सेवा अवधि करिब दुई वर्ष मात्रै बाँकी रहेको र ठूलो डिपोको नेतृत्व गर्ने चाहना राखेका कारण व्यवस्थापनले भैरहवा डिपोमा सरुवा गरेको स्रोतको भनाइ छ । त्यस्तै, कार्यकारी निर्देशक उमेशप्रसाद थानीको सचिवालयमा कार्यरत सुमन पुडासैनीको पोखरा विमानस्थलस्थित हवाई इन्धन डिपो प्रमुखमा सरुवा भएको स्रोतको भनाइ छ ।

आयल निगमको ११ वटा डिपो तथा शाखा कार्यालयमध्ये काठमाडौं उपत्यकामा इन्धन वितरण सबैभन्दा चुनौतीपूर्ण मानिन्छ । यद्यपि, यो डिपोमा दुई वर्ष नेतृत्व गर्दा भुसालले कुनै पनि दिन उपत्यकामा इन्धन आपूर्तिमा अवरोध हुन नदिई सहज रूपमा पेट्रोलियम पदार्थ वितरणका लागि सहजीकरण गरेका थिए । उनले इन्धन चुहावट नियन्त्रणका लागि ‘इलेक्ट्रिक फ्लो मिटर’समेत जडान गरी कार्यान्वयन सुरु गरेका छन् । अहिले थानकोट र अमलेखगन्ज डिपोमा मात्र फ्लो मिटर जडान गरिएको छ ।

फ्लो मिटरका कारण ट्यांकरमा लोडिङ भएको इन्धनको नापजाँच ‘डिप रड’ले गर्नुपर्ने बाध्यता हटेको छ । प्रत्येक ट्यांकरमा लोड भएको इन्धनको परिमाण फ्लो मिटरको स्क्रिनमै देखिने हुँदा चुहावटसमेत घटेको छ भने पाइपको सहायताले गर्ने लोडिङको तुलनामा छिटो कार्यसम्पादन गर्न पनि मद्दत मिलेको छ ।

थानकोटमा नयाँ कार्यालय प्रमुखका रूपमा सरुवा भएका अशोक शाह यसअघि दुईपटक कोशी प्रादेशिक कार्यालय, विराटनगरमा प्रमुख भइसकेका छन् । उनले केन्द्रीय कार्यालयस्थित इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागमा रहँदा बबरमहलस्थित निर्माणाधीन कर्पोरेट टावरको डिजाइन र टेन्डरको काम गरेका थिए । एक अर्ब २५ करोड रुपैयाँ लागत अनुमानको सो भवन ९२ करोड रुपैयाँमा ठेक्का लागेको छ ।

हाल उपनिर्देशक रहेका शाहले आन्तरिक प्रतिस्पर्धामार्फत निर्देशक तहमा बढुवाका लागि अध्ययन गरिरहेका वेला सबैभन्दा चुनौतीपूर्ण डिपोमा सरुवा भएको छ । निर्देशक तहका लागि शाहसँगै उपनिर्देशकहरू पुस्कर कार्की, अञ्जना पोख्रेल, दिवाकर मल्लिक र मनोज ठाकुर प्रतिस्पर्धामा छन् । आर्थिक लाभ हुने भएकाले आयल निगममा डिपो प्रमुखलाई आकर्षक पद मान्ने गरिएको छ।

सुझावित समाचार