एमाले अध्यक्ष केपी ओलीले आफूले अझै २० वर्ष राजनीति गर्ने बताएका छन् । एमाले गण्डकी प्रदेश कमिटीका नवनिर्वाचित समितिको शपथग्रहण कार्यक्रममा सोमबार उनले आफूले अझै २० वर्ष राजनीति गर्ने बताएका हुन् ।
‘म पदमा बसुँला नबसुँला, त्यो बेग्लै कुरा हो, तर अझै २० वर्ष राजनीति गर्छु । यस्तो भन्दा अचम्म मान्छन् मान्छेहरू । मेरो बुबा अझै तगडा हुनुहुन्छ, यति भनेपछि पुग्छ । मलाई सात र दुईजस्तो लाग्दैन । २७ वर्षेजस्तो लाग्छ ।’ आफूले दैनिक १८ घन्टा काम गर्ने उनले बताए ।
ओलीले कम्बोडियाको एक दूरसञ्चार कम्पनीमा आफ्नो तीन हजार करोड लगानी छ भनी अफवाह फैलाएको भन्दै आक्रोश व्यक्त गरे । तीन वर्षअघि नेपालले आफ्नो जमिन समेटेर बनाएको नक्साका कारण भारतको जी न्युजले प्रतिशोध साँधेर सो समाचार प्रसारण गरेको र पछि त्यसको आलोचनापछि माफी मागिसकेको कुरालाई पुनः अहिले आएर उचालिएको उनको भनाइ थियो । ओलीले कम्बोडियामा आफ्नो लगानी पत्ता लगाइदिए आफूले त्यो सबै सम्पत्ति पत्ता लगाउनेलाई दिने र त्यसमा एक हजार रुपैयाँ थपेर बक्सिससमेत दिने घोषणा गरे ।
पूर्वप्रधानमन्त्री ओलीले हाल भन्सारमा तस्करी भएका कारण २५ प्रतिशत पनि कर नउठेको बताउँदै विमानस्थलबाट कर नउठ्ने, तर तस्करीको तरक्की हुने गरेको आरोप लगाए । ‘क्विन्टल सुन आउँछ । एक महिनापछि त्यो ६० किलोमा झर्छ । विद्युतीय सिगरेट भन्नेमा नौ केजी सुन पक्राउ पर्छ, त्यो पछि दुई केजीमा झर्छ,’ उनले भने, ‘हाल देशमा डकैती भइरहेको, तर सरकारलाई कुनै अप्ठ्यारो लागेको छैन । पक्राउ परेको सुन भन्सार र एयरपोर्टबाटै हराउने गरेको छ । कहाँ लैजानुपर्ने थियो, पुर्याउनुपर्ने थियो कहाँ पुर्याए ।’ हाल देश रेमिटेन्सले मात्रै चलिरहेको ओलीको भनाइ थियो । गठबन्धन सरकारले बहादुरी गरेर नेपाललाई एसियाको सबैभन्दा गरिब देश बनाउन सफल भएको उनले आरोप लगाए ।