संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आधा घन्टा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ भने बाँकी सबै भेट १५ मिनेट मात्रै हुनेछ।
महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलदेखि पूर्वप्रधानमन्त्रीद्वय केपी ओली र शेरबहादुर देउवा, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग जम्मा १५–१५ मिनेट भेट्नेछन्।
उनले परराष्ट्रमन्त्री साउदबाट भेटवार्ताको सुरुवात गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यस्तो छ उनको आजको कार्यतालिका
- दिउँसो १ः३० बजे, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग परराष्ट्र मन्त्रालयमा भेटवार्ता ।
- पौने २ बजे उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता।
- २ बजे उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता।
- सवा २ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता। भेटघाट आधा घन्टा। पौने ३ बजे प्रधानमन्त्री कार्यालयमा सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन।
- ३ः१० बजे, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग र ३ः२५ बजे पूर्वप्रधानमन्त्री एवं विपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेटवार्ता ।
- ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार वार्ता। १५ मिनेट शिष्टाचार वार्तापछि उनी पाटन दरबारस्क्वायर जाने।
- साँझ ७ बजेदेखि पौने ९ बजेसम्म प्रधानमन्त्री प्रचण्डले आयोजना गर्ने राजकीय रात्रिभोजमा सहभागी हुने। रात्रिभोज होटल सोल्टीमा।