अस्ट्रेलियाको रोमाञ्चक जित

आइसिसी एकदिवसीय विश्वकप– २०२३

आइतबार, १२ कार्तिक, २०८०
डिजिटल संस्करण

न्युजिल्यान्डविरुद्ध रोमाञ्चक जित निकाल्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय विश्वकपको शीर्ष चारको सम्भावना बनायो

न्युजिल्यान्डविरुद्धको रोमाञ्चक खेलमा पाँच रनको जित निकाल्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय विश्वकपको सेमिफाइनल सम्भावना बलियो बनाएको छ । सुरुवाती खेलमा कमजोर प्रदर्शन गरेको अस्ट्रेलियाले न्युजिल्यान्डविरुद्ध भने सानदार प्रदर्शन गरेको थियो । कीर्तिमानी पाँचपटकको च्याम्पियन अस्ट्रेलियाको विश्वकपमा चौथो जित हो ।

न्युजिल्यान्डको भने दोस्रो हार हो । अस्ट्रेलियाले दिएको तीन सय ८८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ९ विकेट गुमाएर मात्र तीन सय ८३ रन बनाउन सक्यो । अन्तिम ओभरमा न्युजिल्यान्डलाई १९ रन चाहिएको थियो । अन्तिम बलमा ६ रन चाहिएको अवस्थामा न्युजिल्यान्ड चुक्यो । जारी विश्वकपमा सातौँपटक ३५० रन पूरा भएको छ । 

अस्ट्रेलियाको जितमा ट्राभिस हेडले शतकीय इनिङ्स खेले । उनले ६७ बलमा एक सय ९ रन बनाएका हुन् । न्युजिल्यान्डको इनिङ्समा रचिन रविन्द्रले ८९ बलमा एक सय १६ रन बनाए पनि टोलीलाई जित दिलाउन सफल भएनन् । जितपछि समान ६ खेलबाट दुवै टोलीको समान ८ अंक रहेको छ । नेट रनरेटका आधारमा न्युजिल्यान्ड तेस्रो र अस्ट्रेलिया चौथो स्थानमा छ । समान १० अंक भए पनि दक्षिण अफ्रिका पहिलो र भारत दोस्रो स्थानमा छ । भारतले एक खेल कम खेलेको छ । शनिबार नै भएको खेलमा नेदरल्यान्ड्सले बंगलादेशलाई ८७ रनले पराजित गरेको छ ।

रचिनको शतक छायामा
न्युजिल्यान्डको इनिङ्समा तेस्रो नम्बर क्रिज आएका रचिन रविन्द्रले शतकीय इनिङ्स खेलेका थिए । यद्यपि, उनको शतक छायामा परेको छ । रचिनले ८९ बलमा ९ चौका र ५ छक्कासहित एक सय १६ रन बनाए । रचिनले विश्वकपमा दोस्रो शतक बनाएका हुन् । उनी विश्वकपमा दोस्रो शतक हान्ने पहिलो युवा खेलाडी बनेका छन् । उनले भारतीय खेलाडी सचिन तेन्दुलकरको कीर्तिमान तोडेका हुन् । सचिनले २४ वर्षमा दुई शतक प्रहार गरेका थिए । 

डेरी मिचल र जेम्स निसमले अर्धशतक बनाए । मिचलले ५१ बलमा ५४ रन बनाए । निसमले ३९ बलमा आक्रामक ब्याटिङ गर्दै ५८ रन जोडेका हुन् । यसबाहेक डेभन कोन्वेले २८ र विल योङले ३२ रनको योगदान गरेका थिए । दुईबीच ६१ रनको साझेदारी भएको थियो । मिचेल र रविन्द्रबीच सर्वाधिक ९६ रनको साझेदारी भएको हो । अस्ट्रेलियाका लागि एडम जाम्पाले सार्वधिक तीन विकेट लिए । यसैगरी, कप्तान प्याट कमिन्स र जस हैजलउडले समान दुई विकेट लिँदा ग्लेन म्याक्सवेलले एक विकेट लिएका थिए । 

हेडको आक्रामक शतक
यसअघि विश्वकपको २७औँ खेलमा अस्ट्रेलियाले टस हारेर ब्याटिङ गरेको थियो । ओपनर डेविड वार्नर र हेडको सानदार ब्याटिङसँगै अस्ट्रेलियाले ४९.२ ओभरमा अलआउट हुँदै तीन सय ८८ रन बनाएको थियो । हेडले जारी विश्वकपमा पहिलो खेल खेलेका हुन् । उनले ६७ बलमा १० चौका र सात छक्का प्रहार गरे । यसअघि घाइते हुँदा उनी चार खेलमा बेन्चमै सीमित थिए । उनको यो करिअरको चौथो तथा विश्वकपमा पहिलो शतक हो । यो विश्वकपमा कम बलमा बनेको तेस्रो शतक हो । यसअघि, ग्लेन म्याक्सवेलले ४० र एडम मार्करमले ४९ बलमा शतक बनाएका छन् । यसअघि अस्ट्रेलियाले पावर प्लेमा विनाविकेट एक सय १८ रन बनाएको थियो । 

यसैगरी, अर्का ओपनर वार्नरले ६५ बलमा पाँच चौका र ६ छक्कासहित ८१ रन बनाए । हेड र वार्नरले पहिलो विकेटका लागि एक सय ७५ रनको बलियो साझेदारी गरेका थिए । वार्नरको यो करिअरकै २३औँ अर्धशतक हो । म्याक्सवेलले ४१ रन, जस इङ्लिसले ३८, कप्तान कमिन्सले ३८ रनको योगदान गरेका थिए । न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र ग्लेन फिलिप्सले समान तीन विकेट लिए । बोल्टले १० ओभरमा ७७ र फिलिप्सले समान १० ओभरमा ३७ रन खर्चिएका थिए । मिचल सान्टनरले दुई तथा माट हेन्री र निसमले समान एक विकेट लिएका थिए । 

See More On

सुझावित समाचार