‘रोसी कप २०८०’ फुटबल प्रतियोगिता सम्पन्न भएको छ। कात्तिक ३ गतेबाट सुरु भएको प्रतियोगिता शुक्रबार सकिएको हो। नेपालीहरूको महान चाड विजया दशमी २०८० को पावन अवसरमा आयोजित प्रतियोगिताको उपाधि वडा नं. ९ ले जितेको छ।
‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताको समापन शुक्रबार भएको हो। रोसी गाउँपालिकाको आर्थिक सहयोगमा पिन्थली युवा क्लबले आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. ९ ‘सी’ले जितेको छ।
वडा नं. ७ लाई १–० ले पराजित गर्दै वडा नं. ९‘सी’ विजयी भएको हो। वडा नं. ९ ‘सी’सँग पराजित भएको वडा नं. ७ को टिम दोस्रो भएको छ। वडा नं. ९ ‘बी’ टिमलाई १–३ गोलले पराजित गर्दै वडा नं. २ तेस्रो भएको छ।
विजयी टिमहरूलाई प्रतिनिधिसभा सदस्य सूर्यमान दोङले सिल्ड, रोसी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले चेक र प्रमाणपत्र र गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबाले मेडल वितरण गरेका थिए।
प्रथम हुने टिमलाई नगद ५० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। त्यस्तै, दोस्रो हुने टिमलाई नगद ३० हजार र तेस्रो हुने टिमलाई नगद २० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो।
बेस्ट प्लेयरको उपाधि विशाल लामाले हात पारेका छन्। त्यस्तै, बेस्ट गोलकिपरको उपाधि सरोज लामाले र सर्वाधिक गोलर सुरजज्यू ठकुरीले हात पारेका छन्।