राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बिहीबार साँझ अमेरिका प्रस्थान गरेका छन् । अध्यक्ष लिङ्देन पार्टीसम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेका हुन् ।
अमेरिका प्रस्थान गर्नुअघि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै व्यवस्था बदलिए पनि अवस्था उही रहेका कारण जनतामा निराशा बढेको बताए ।
दसैँ, तिहार, छठ सकिएपछि केन्द्रीय समितिको बैठक बस्ने र त्यसले जनदबाबका थप कार्यक्रम सार्वजनिक गर्ने उनले जानकारी दिए ।
अमेरिका भ्रमणका क्रममा अध्यक्ष लिङ्देनले टेक्सासको ड्यालसमा हुने पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशनको समुद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ ।
राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देनले अमेरिकामा मोमो महोत्सवमा प्रमुख आतिथ्यता ग्रहण गर्नेछन् । नेपालीहरूसँग भेटघाट एवं अन्तर्क्रिया गर्ने पनि उनको कार्यक्रम रहेको छ । (रासस)