सिडिओसहित सुरक्षा अधिकारीले गरे सीमास्तम्भको निरीक्षण

मंगलबार, ७ कार्तिक, २०८०
डिजिटल संस्करण

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण पोख्रेल र एसपी सुभाषचन्द्र बोहाेराले नेपाल–भारत सीमास्तम्भको अनुगमन तथा निरीक्षण गरेका छन् । बाँकेको कार्यभार सम्हालेलगत्तै प्रजिअ पोख्रेल र प्रहरी प्रमुख बोहाेरासहितको टोलीले नेपाल–भारत सीमाअन्तर्गत बघौडा क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका हुन् ।

सीमा क्षेत्रका अनुगमन तथा निरीक्षणपछि प्रजिअ पोख्रेल र एसपी बोहाेराले सीमा क्षेत्रका नागरिकको समस्याबारे चासो राखेका थिए । सो अवसरमा नरैनापुरका सर्वसाधारणले खुला सीमाका कारण हुने अवैध चोरी, पैठारी तथा सुरक्षाकर्मीबाट खेप्दै आएको समस्या प्रजिअ पोख्रेललाई जानकारी गराएका थिए । ‘हामी नेपाली भए पनि अनुभूति गर्न पाएका छैनौँ । आफूले उत्पादन गरेको खाद्यान्न सदरमुकाम नेपालगन्ज लैजाँदासमेत नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करीको खाद्यान्न भन्दै नियन्त्रणमा लिएर हामीलाई दुःख दिन्छन्,’ एक सर्वसाधारणले भने, ‘आफूले उत्पादन गरेको खाद्यान्न निर्वाध रूपमा लैजाने व्यवस्था मिलाइदिनुपर्याे ।’

स्थानीयको गुनासो सुनेपछि प्रजिअ पोख्रेलले नरैनापुरमा उत्पादन भएको खाद्यान्न प्रहरीले नियन्त्रणमा लिनु ठीक नभएको बताउँदै यसको व्यवस्था मिलाउने आश्वासन दिए । उनले सीमामा हुने अवैध चोरी, निकासी नियन्त्रण गर्न सुरक्षा अधिकारीलाई निर्देशनसमेत दिए । ‘स्थानीय किसानले उत्पादन गरेका खाद्यान्न सहज रूपमा नेपालगन्जसम्म लैजाने व्यवस्था  मिलाइनेछ । चोरी–पैठारी नियन्त्रण गर्न सुरक्षाकर्मीसँग समन्वय गरी व्यवस्थापन गरिनेछ,’ प्रजिअ पोख्रेलले भने । 

दसैँको मूर्ति विसर्जन, सीमास्तम्भहरूको अवस्था, सीमावर्ती क्षेत्रबाट हुने अवैध चोरी निकासी, लागुऔषध ओसारपसारलगायतका अपराध हुन नदिन अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलको भनाइ थियो ।

नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरका किसान निकै पीडामा रहेकाले किसानको समस्या समाधान गर्नतर्फ भूमिका खेल्न प्रजिअ पोख्रेलसहित सुरक्षा अधिकारीसँग माग गरे । उनले अर्को प्रसंगमा नरैनापुर धार्मिकतामा अति संवेदनशील ठाउँ भए पनि दसैँको मूर्ति विसर्जन कार्यलाई सौहर्दपूर्ण रूपमा सम्पन्न गर्ने गरी तयारी गरिरएको जानकारी दिए ।  
 

सुझावित समाचार