दसैँको आसन : टीका लगाउने व्यक्ति पश्चिम र लगाइदिने मान्यजन पूर्व फर्कनुपर्ने

मंगलबार, ७ कार्तिक, २०८०
डिजिटल संस्करण

विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले दसैँको टीका लगाउने मानिस पश्चिम दिशा फर्कनुपर्ने र टीका लगाइदिने मान्यजन पूर्व फर्केर लगाइदिँदा उत्तम हुनेछ। चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गरिएकाे हाे । टीका लगाउने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुन्छ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिन्छ ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ ।  

आज गुरु–पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरूबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमता वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।    

टीकाको साइत ११ बजेर २ मिनेटमा  

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभसाइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

दसैँघर वा पूजाकोठामा नौ दिनसम्म पूजा–आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले आज बिहान ११ बजेर २ मिनेटको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभदिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका सदस्य तथा वाल्मीकि क्याम्पस धर्मशास्त्र विभागका प्रमुख प्रा.डा. देवमणि भट्टराई बताउँछन् ।

‘विजयादशमीको टीका लगाउने मुख्य साइत ११ बजेर २ मिनेटमा छ, शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ,’ उनले  भने, ‘शुभसाइतमा टीका लगाउन प्रारम्भ गरेपछि जतिवेला पनि टीका लगाउन मिल्छ ।’ घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १० बजेर ३७ बजे रहेको छ ।  
  

See More On

सुझावित समाचार