इन्द्रसरोवरमा सुमो दुर्घटना हुँदा १२ भारतीयसहित १३ जना घाइते

मंगलबार, ७ कार्तिक, २०८०
डिजिटल संस्करण

मकवानपुरको इन्द्रसरोवरमा आज (मंगलबार) बिहान टाटा सुमो दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । इन्द्रसरोवर गाउँपालिका– ५ मकैबारीमा आज बिहान ३:३५ बजेको समयमा सुमो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मकवानपुरको कुलेखानी–मातातीर्थ हुँदै वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०० १ ज ०२८३ नम्बरको सुमो आफैँ अनियन्त्रित भई सडकबाट २० मिटर तल खोल्सामा खस्दा सुमोमा सवार १३ जना घाइते भएका हुन् ।

उनीहरूलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । घाइते हुनेमा सुमोचालक बारा जिल्लाको कलैया नगरपालिका- २१ का २५ वर्षीय अनिलकुमार शाह रहेका छन् ।

यस्तै, घाइते हुनेमा भारतको जानकी चापा छत्तिसगढकी २५ वर्षीया रचनाकुमारी सूर्यवंशी, सोही स्थानकी ३५ वर्षकी गंगादेवी सूर्यवंशी, ३० वर्षकी मधु सूर्यवंशी, ३७ वर्षको इन्द्र सेन, ३१ वर्षकी रितु सूर्यवंशी, २९ वर्षकी सरोजनी देवी, ११ वर्षकी प्रतिभा सूर्यवंशी, दुई वर्षकी दिव्या सूर्यवंशी, चार वर्षको प्रतीक सूर्यवंशी, ३१ वर्षका विजयकुमार सूर्यवंशी, ३५ वर्षका अजयकुमार सूर्यवंशी र नाम थर नखुलेको ६० वर्षीया महिला रहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार