गाजा सहरस्थित एक अस्पतालमा गरिएको हमलाप्रति एमालेको निन्दा

बिहिबार, २ कार्तिक, २०८०
डिजिटल संस्करण

प्रमुख विपक्षी दल एमालेले प्यालेस्टाइनी राज्यको गाजा सहरस्थित एक अस्पतालमा गरिएको हमलामा बालबालिकासहित पाँच सयभन्दा बढी नागरिक मारिएको घटनाको कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ । अध्यक्ष केपी ओलीले बुधबार विज्ञप्ति प्रकाशित गरी घटनाको कडा शब्दमा निन्दा र भर्त्सना गरेका हुन् । 

मंगलबार राति गाजा सहरको अल अहरी अरब अस्पतालमा भएको आक्रमणमा परी अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा–आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी पाँच सयभन्दा बढी नागरिक मारिएका छन् । ‘रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिंगो अस्पताल भवन नष्ट हुनुका साथै बालबालिकासहित सयौँको संख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुन्छ,’ ओलीले वक्तव्यमा भनेका छन् । 

अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लंघन भएको एमालेको निष्कर्ष छ । ‘नेकपा (एमाले) शान्तिको पक्षमा छ । जुनसुकै खाले द्वन्द्व र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्छ भन्ने मान्यता राख्दछ । निहत्था नागरिक, अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लंघन भएको छ,’ ओलीले वक्तव्यमा भनेका छन्, ‘यस किसिमका क्रूर र अमानवीय आक्रमण तत्काल रोकिनुपर्छ । निहत्था नागरिकलाई सुरक्षित गरिनुपर्छ । साथै, उद्धार तथा आपत्कालीन सहयोगका लागि गाजापट्टीमा मानवीय सहायता प्रदायकहरू जानका लागि अनुमति दिनुपर्छ भन्ने मान्यता राख्दछौँ । यस प्रकारका सबैखाले आक्रमण रोक्न हामी सम्बन्धित पक्षलाई आह्वान गर्दछौँ ।’ 

See More On

सुझावित समाचार